एशियन मिटमा नियामक निकायहरूको अभ्यास, रिक्स वेस क्यापिटलदेखि बीमाको बढ्दो जोखिमबारे छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा काठमाडौंमा हिजोदेखि बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन एशियन मिट सुरु भएको छ ।
बीमा क्षेत्रमा बढ्दो जोखिमको बारेमा समीक्षा गरिदै कार्यक्रम संचालन गरिएको छ । इन्टरनेशनल एसोशियसन अफ इन्स्योरेन्स सुपरभाइजर्स (आईएआईएस), एशियाली विकास बैंक (एडीबी) र एक्सेस टू इन्स्योरेन्स इनिस्येटिभ (एआईआई)को सहयोगमा सम्मेलन हिजोदेखि सुरु भएको हो ।
प्रविधिको विकाससँगै सँगै बीमा क्षेत्रमा देखापरेका नयाँ नयाँ जोखिमहरूको पहिचान, जोखिम न्यूनीकरणका लागि प्राविधिक क्षमताको विकास र बीमा क्षेत्रको दिगो विकासका लागि आपसी सहयोग एवम् साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा जलवायु परिवर्तन, महामारी लगायतका कारण बीमा क्षेत्रमा देखिएका जोेखिम, जोखिम न्यूनीकरणका अन्तर्राष्ट्रिय अभ्यास, जोखिम न्यूनीकरणसम्बन्धी आपसी अनुभव, जोखिम न्यूनीकरणका लागि क्षमता अभिवृद्धि र बीमा क्षेत्रको भावी गन्तव्य लगायतका विषयमा प्रस्तुतीकरण एवम् छलफल हुनेछ ।
त्यस्तै, विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायहरूका काम कारवाही, नयाँ नयाँ जोखिमहरूको व्यवस्थापनका लागि बीमा कम्पनीहरूलाई तयारी अवस्थामा राख्न नियामक निकायहरूले निर्वाह गर्दै आएको भूमिका, नियामक निकायहरूबीचको सम्बन्ध सुदृढीकरण, बीमा व्यवसायको स्वच्छ विकासका लागि नियामक निकायहरूबीचको आपसी सहयोग एवम् साझेदारी अभिवृद्धि, बीमा क्षेत्रलाई सबल, नवीन सोच र जवाफदेही किसिमले अघि बढाउने लगायत विषयमा छलफल हुने भएको छ ।
जोखिममा आधारित पूँजीको कार्यान्वयन, बीमामा नवीनतम् डिजिटल प्रणाली अवलम्बन, बीमा व्यवसायको विकासका लागि नियामक निकायको क्षमता अभिवृद्धि, बीमा क्षेत्रमा जलवायु परिवर्तनका कारण आउने चुनौतीहरूको न्यूनीकरणका लागि नियामक निकाय, बीमक र पुनर्बीमकहरूको भूमिका बारेमा सम्मेलनमा छलफल हुने प्राधिकरणको भनाई छ ।
त्यसको साथ साथै भूकम्प बीमाका सम्बन्धमा एशियाली अनुभव, कृषि बीमाको विकास तथा अभ्यास, जोखिममा आधारित सुपरीवेक्षण सम्बन्धी संरचना, जीवन बीमा व्यवसायका अभ्यास, अवसर र चुनौती लगायतका विषयहरूमा बीमा क्षेत्रका नियामक निकाय, बीमक, पुनर्बीमक र बीमा विज्ञहरूबाट कार्यपत्रहरू प्रस्तुती र कार्यपत्रहरू माथि छलफल एवम् अन्तरक्रिया भएको छ।
सोही सम्मेलनको आयोजनाबाट विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायहरू बीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउने बीमा प्राधिकरणको भनाई छ । नियामकीय काम कार्यवाहीलाई अझ परिष्कृत बनाउन, बीमा क्षेत्रमा नवीनतम् प्रविधिको प्रयोगलाई बढावा दिन र बीमा क्षेत्रका समस्याहरू शीघ्र पहिचान गरी न्यूनकरण गर्न यही कार्यक्रमबाट योगदान पुग्ने अपेक्षा गरिएको छ ।
हिजोदेखि सुरु भएको तीन दिनसम्म हुने सम्मेलनमा पहिलो दिन नेपाल लगायत भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, कम्बोडिया, इण्डोनेसिया, माल्दिभ्स, थाइल्याण्ड, चीन (मकाओ), जोर्डन र मलेसिया लगायतका देशका बीमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरूको सहभागिता रहेका छन् ।
यसैगरी, सम्मेलनको दोस्रो र तेस्रो दिन विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायका पदाधिकारीहरूका साथै बीमा क्षेत्रसँग सम्बन्धित सरकारी निकायका पदाधिकारी, बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमाङ्की, बीमा ब्रोकर, बीमा विज्ञ र विभिन्न बीमा सेवा प्रदायक सङ्घ संस्थाका पदाधिकारीहरूको सहभागिता रहनेछ । उक्त अन्तराष्ट्रिय सम्मेलनमा करिव तीन सय ५० जनाको सहभागिता रहेका छन् ।