खराब कर्जाको चपेटामा फाइनान्स: ६ कम्पनी ऋणात्मक हुँदा डुब्दै जानकी र पोखरा, कुनको नाफा र एनपिएल कति ?

८ माघ २०८१, मंगलवार १३:०१

काठमाडौँ । शेयर बजारमा निकै चर्चामा रहेको फाइनान्स सेक्टरको वित्तीय अवस्था भने कमजोर देखिएको छ । हाल नेप्सेमा सूचीकृत १५ फाइनान्सको वित्तीय अवस्था संकटपूर्ण रहेको हो ।

चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमास (साउनदेखि मंसिर) सम्ममा फाइनान्स सेक्टर ३६ करोड ४९ लाख ४५ हजार रुपैयाँ ऋणात्मक रहेका छन् । गत आर्थिक वर्षको सोहि अवधिमा भने फाइनान्स कम्पनीहरुले १९ करोड ४३ लाख रुपैयाँ नाफा कमाएका थिए ।

खराब कर्जा चुलिँदै जाँदा कम्पनीको नाफा प्रभावित भइरहेको छ । समिक्षा अवधिमा १२ कम्पनीको खराब कर्जा बढेको छ । जसमा ७ कम्पनीको खराब कर्जा १० प्रतिशतभन्दा माथि रहेको छ । अझ, फाइनान्स कम्पनीहरुले राष्ट्र बैंकलाई झुटो वित्तीय विवरण पेश गर्ने गरेको तथ्य समेत बाहिर आउने गरेको छ । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको पोखरा फाइनान्सको अधिकांश सूचक धरापमा रहेको हो । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको खराब कर्जा ३३.४४ प्रतिशत पुगेको छ । तर, राष्ट्र बैंकले ४१ प्रतिशत खराब कर्जा देखाएको थियो । यसरी अन्य फाइनान्स समेत झुटा वित्तीय रिपोर्ट राष्ट्र बैंकमा पेश गर्ने गरेको छन् ।

कम्पनीहरुको वित्तीय अवस्था टाट पल्टिने अवस्था हुँदा पनि राष्ट्र बैंकलाई गलत वित्तीय रिपोर्ट दिने गरेको छ । लगानीकर्तालाई फसाउन कम्पनीहरु लागि परेको भएपनि यस्तो लापरबाहीमा राष्ट्र बैंक भने मौन नै देखिन्छ । विडम्बना यस्ता कमजोर वित्तीय अवस्था भएका कम्पनीहरूप्रति शेयर बजारमा लगानीकर्ताको आकर्षण झनै बढ्दो देखिएको छ । खराब कर्जाको भार थेग्न नसक्ने अवस्थामा रहेका कम्पनीहरूको शेयर मूल्य उच्च रहेको तथ्यले बजारको यथार्थता र लगानीकर्ताको मानसिकतालाई प्रश्नचिह्न लगाएको छ । लगानीकर्ताहरूले कम्पनीको वास्तविक वित्तीय अवस्था हेर्नुको साटो केवल बजारमा चलेका हल्ला र सामान्य ट्रेन्डलाई प्राथमिकता दिएको देखिन्छ ।

६ कम्पनीको नाफा ऋणात्मक, जानकी र मञ्जुश्री सर्वउत्कृष्ट

चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण अनुसार सर्वाधिक नाफा आर्जन गर्ने कम्पनीमा जानकी फाइनान्स देखिएको छ । यसअवधिमा कम्पनीले आफ्नो नाफा ११.०१ प्रतिशतले बढाएर ११ करोड ७० लाख ७९ हजार रुपैयाँ पुराएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनीको नाफा १० करोड ५४ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

सर्वाधिक नाफा आर्जन गर्ने दोस्रो नम्बरमा मञ्जुश्री फाइनान्स रहेको छ । कम्पनीको नाफा ११.०१ प्रतिशतले बढेर ११ करोड ७० लाख ७९ हजार रुपैयाँ रहेको छ । नाफा वृद्धिमा भने नेपाल फाइनान्स र आइसिएफसी फाइनान्स अग्र स्थानमा रहेका छन् । नेपाल फाइनान्सको २४२५ प्रतिशतले बढेर २ करोड ५ लाख रुपैयाँ र आइसिएफसीको १०५.०५ प्रतिशतले बढेर १० करोड ९१ लाख रुपैयाँ पुगेको छ ।

साथै, प्रोगेशिभ फाइनान्सको ८ करोड ५३ लाख, मल्टिप्रपोज फाइनान्सको २ करोड, श्री इन्भेष्टमेन्ट फाइनान्सको १ करोड ४१ लाख, गुडबिल फाइनान्सको १ करोड ४ लाख र सेन्ट्रल फाइनान्सको ३४ लाख रुपैयाँ मुनाफा रहेको छ ।

त्यस्तै, ऋणात्मक हुने कम्पनीमा क्रमशः गोर्खाज फाइनान्स २५ लाख, बेष्ट फाइनान्स १ करोड ७२ लाख, गुहेश्वरी मर्चेन्टको २ करोड १८ लाख, समृद्धि फाइनान्सको ६ करोड २८ लाख, रिलायन्स फाइनान्सको ११ करोड ९७ लाख र पोखरा फाइनान्सको ६३ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

खराब कर्जाको चेपटामा ७ कम्पनी, डुब्दै जानकी र पोखरा

खराब कर्जाले जानकी फाइनान्स धराप परेको छ । नाफा सबैभन्दा उत्कृष्ट रहे पनिमा खराब कर्जा चुलिँदै जाँदा संकटमा परेको हो । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुष समान्तसम्मको तथ्याङ्क अनुसार कम्पनीको खराब कर्जा १९.९९ प्रतिशतबाट बढेर ४०.८८ प्रतिशत पुगेको छ ।

यता, पोखरा फाइनान्सको खराब कर्जा समेत २८.४५ प्रतिशत बढेर ३३.२१ प्रतिशत रहेको छ । समृद्धि फाइनान्सको १९.३४ प्रतिशत, गोर्खाज फाइनान्सको १४.४२ प्रतिशत, रिलायन्स फाइनान्स १४.२१ प्रतिशत, सेन्ट्रल फाइनान्सको ११.९४ प्रतिशत र नेपाल फाइनान्सको १०.४६ प्रतिशत खराब कर्जा रहेको छ ।

अन्य कम्पनीको भने १० प्रतिशतभन्दा तल रहेको छ । गुशेश्वरी मर्चेन्टको ८.१८ प्रतिशत, प्रोगेशिभको ७.५७ प्रतिशत, बेष्ट फानान्सको ३.८६ प्रतिशत, मञ्जुश्री फाइनान्सको ३.८६ प्रतिशत, आइसिएफसीको ३.०७ प्रतिशत, गुडबिल फाइनान्सको १.८५ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*