युक्रेन युद्ध अन्त्य गर्ने राष्ट्रपति ट्रम्पको घोषणा, विश्वअर्थतन्त्र फेरि गुल्जार बन्ने संकेत
काठमाडौं । अमेरिकी समय अनुसार आजदेखि नयाँ राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्प ह्वाईट हाउसमा भित्रिएसँगै युक्रेन युद्ध समेत अन्त्य हुने विश्वास गरिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका बीचमा छिट्टै वार्ता हुने र युक्रेनमा जारी युद्ध समेत अन्त्य हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बधाई ज्ञापन गरेका छन् । युरोन्यूजका अनुसार रसियाका राष्ट्रपति पुटिनले सेक्युरिटी काउन्सिलसँगको मिटिङमा बधाई सन्देश राष्ट्रपति ट्रम्पलाई पठाएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले रसियासँग यसअघि बन्द गरिएको सम्पर्क कार्यालय पुनः सुचारु गर्ने निर्णय समेत गरेका छन् ।
राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि नै मध्यपूर्वमा जारी युद्ध ४२ दिनको लागि भएपनि युद्धविराम गराएर शान्ति कायम गरेका ट्रम्पले अब युक्रेनमा जारी युद्ध समेत अन्त्य गर्ने बिषयलाई उच्च प्राथमिकतामा राखेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले नयाँ कार्यकालको पहिलो दिन ७८ वटा बाईडेनका निर्णयहरु खारेज गरेर विश्वकै ध्यान आफूतिर आकर्षित गर्न सफल भएका छन् । यद्यपि उक्त निर्णयहरुभित्र वातावरण प्रभाव पार्ने जस्ता विवादित र आईसीसीबाट अलग हुने जस्ता निर्णयहरु पनि छन् ।
दोस्रो कार्यकाल सुरु गरेका ट्रम्पले युक्रेनमा जारी युद्ध जतिसक्दो छिटो अन्त्य गर्ने घोषणा गरेका छन् । मध्यपूर्वमा शान्ति कायम गरेर सुरुवाती रुपमा सकारात्मक र युद्धविरोधी सन्देश दिएका ट्रम्पले युरोपमा जारी युद्ध रोक्न प्रयत्न गरेमा सफल हुनेमा सबै जना आशावादी देखिन्छन् । किनभने युक्रेनले अमेरिकी हतियारकै भरमा रसियाविरुद्धमा युद्ध लडिरहेको छ । अमेरिकी सहयोग बन्द हुने वित्तिकै युक्रेन आत्मसमर्पण गर्न बाध्य हुनेछ । युक्रेन युद्ध शक्तिराष्ट्र मुख्यतः यसअघिको अमेरिकी प्रशासन र युरोपका केही देशहरुका कारण भइरहेको थियो । युक्रेनले लिन खोजेको नेटो सदस्यता र युरोपियन युनियन इयुको सदस्यता नै मुख्य बिषय रहँदै आएको छ । अन्य कुनै लेनदेन वा अप्ठेरो बिषय समेत नभएको र युक्रेनले लिन खोजेको नेटो सदस्यता तत्कालका लागि पर सार्ने र युद्धमा गुमेको भूमिका सम्बन्धमा सहमति हुने वित्तिकै युक्रेन युद्ध अन्त्य हुनेछ ।
युक्रेन युद्धलाई सुरुमा जसरी रसियाविरुद्धमा तत्कालिन अमेरिकी प्रशासन र युरोपियन देशहरुले प्रयोग गर्न खोजिरहेका थिए, त्यसमा उल्टै ब्याक फायर हुन पुग्यो । युद्धका कारण युरोपेली देश र अमेरिकी अर्थतन्त्र नै कमजोर हुन पुग्यो । अहिलेको विश्व अर्थतन्त्रमा आएको मन्दी पनि सोही कारण नै हो । विश्व अर्थतन्त्रमा आएको मन्दीको अप्रत्यक्ष र प्रत्यक्ष दुवै खालका असर नेपालमा परिरहेको छ ।
अमेरिकाको नयाँ राष्ट्रपतिको रुपमा ट्रम्पको पदबहालीसँगै विश्व अर्थतन्त्रमा गुल्जार आउने नयाँ आशाको सञ्चार भएको छ । राष्ट्रपति ट्रम्पले पद बहाली गर्नु अघि नै मध्यपूर्वमा शान्ति कायम गर्न सफल हुनु र युक्रेन युद्ध अन्त्य गर्ने प्रतिबबद्धता व्यक्त गर्नुले विश्व अर्थतन्त्रमा केही नयाँ आशा पलाएको छ । अलजजिराले ट्रम्पले युक्रेन युद्ध कम्तीमा १०० दिनमा अन्त्य गर्न सक्ने उल्लेख गरेको छ । त्यस्तै, रसियाली सञ्चार माध्यम स्पुतनिक ग्लोबलले अमेरिकी राष्ट्रपति ट्रम्पले संवादको माध्यमबाट समाधान गर्न चाहेको भन्दै सकारात्मक रुपमा लिएको छ ।
युक्रेन युद्ध छिट्टै अन्त्य गर्ने प्रतिबद्धता जनाएपछि युरोपभरि हंगामा मच्चिएको छ । युरोपेली देशका उच्च पदस्थ व्यक्तिहरुले युक्रेनलाई हराएर युद्ध अन्त्य अस्वीकार्य बताएका छन् । फ्रान्सका राष्ट्रपति इम्मानुयल मार्कोनले डोनाल्ड ट्रम्पले भनेजस्तो रातारात युक्रेन युद्ध अन्त्य नहुने र केही समय लाग्ने बताएको दि गार्डियनले उल्लेख गरेको छ । यद्यपि युक्रेन युद्ध अमेरिकी सहयोग बिना धेरै अघि बढ्न नसक्ने तथ्य दिनको घाम जत्तिकै छर्लङ्ग भएकोले आगामी दिन युक्रेनको पक्षमा त्यति सहज भने देखिदैन ।
विश्व अर्थतन्त्रमा युद्धले पारेको प्रभावबाट मुक्त गर्ने ट्रम्पको प्रयासले नेपालमा पनि यसको प्रत्यक्ष असर पर्नेछ । अमेरिकाले केही नयाँ महत्वपूर्ण निर्णयहरु गरेको छ । पेरिस जलवायु सम्झौताबाट पछाडि हट्ने निर्णयले अमेरिका अब औद्योगिक उत्पादन बृद्धितर्फ अग्रसर भएको देखिएको छ । मेक्सिको र क्यानाडालाई कर लगाउने नयाँ निर्णयसँगै चीनियाँ सामानमा समेत थप कर लगाउने सम्भावनाका बीचमा नेपालबाट निर्यात बढाउन सकिने गरी नयाँ कामहरु हुनसक्ने देखिएका छन् । विश्वअर्थतन्त्रमा आगामी दिनमा गुल्जार आउनेबारे डलरको मूल्यबृद्धिले संकेत गरिसकेको छ । आज विश्वभर डलरको मूल्यमा बृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको एक अध्ययनमा पनि युक्रेन र इजरायल प्यालेस्टाईन युद्धले विश्व अर्थतन्त्रको गतिमा दीर्घकालिन प्रभाव पार्ने उल्लेख गरेको थियो । युद्ध अन्त्यसँगै विश्व अर्थतन्त्रमा नयाँ उत्साह र गुल्जार आउनेछ ।