क वर्गका बैंककै खराब कर्जामा उच्च वृद्धि, के गर्दैछ राष्ट्र बैंक?
काठमाडौं । वाणिज्य बैंकहरूको खराब कर्जामा उच्चले वृद्धि भएको छ।वाणिज्य बैंकहरू खराब कर्जाले थिचिएको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको प्रतिवेदनले बैंकहरूको खराब कर्जा उच्च रुपमा बढेको देखाएको छ।
बैंकहरुले वित्तिय विवरण सार्वजनिक गर्ने अघिल्लो दिन अर्थमन्त्रालयमा बोलाएर वित्तिय सूचक सकारात्मक आउने दिएको सन्देशको भोलिपट नै क वर्गका बैंकहरुको वित्तिय रिर्पोटले यस्तो देखाएको हो । नेपाली बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा बढेको भए पनि “अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको” केन्द्रीय बैंकका अधिकारी र वित्तीय क्षेत्रका जानकारहरूले बताएका छन्।
उनीहरूका भनाईमा नेपाली अर्थतन्त्रमा देखिएको “समग्र शिथिलता”का कारण वित्तीय संस्थाहरूको खराब कर्जा वृद्धि भएको हो।
राष्ट्र बैंकका अधिकारीका अनुसार त्यसमा तत्कालै सुधार आउने सम्भावना न्यून रहेको र चालू आर्थिक वर्षको अन्त्यसम्ममा खराब कर्जाको प्रतिशत केही बढ्न पनि सक्ने देखिन्छ। । राष्ट्र बैंकको मोडालिटि अनुरुप के गर्न सक्छौ भन्ने तयारीमा लागिरहेका छौं, यसै बिषयमा बैंकहरुसँग पनि छलफल गर्ने तयारी गरिरहेको ती अधिकारीले बताएका छन् ।
तर यो अवस्था खासै “संवेदनशील तथा डराइहाल्नु पर्ने खालको” नभएको राष्ट्र बैंकको कतिपय सहुलियतले त्यस्तो अवस्थामा सुधार आउने अपेक्षा गरिएको अधिकारीहरूको भनाइ छ।कर्जा असुली बढाएर बैंकहरूले नाफामा सामान्य सुधार देखाएपनि नयाँ कर्जा विस्तार गर्न सकेका छैनन्। जसको असर बैंकहरुको वित्तिय विवरणमा झल्किएको छ।
दोस्रो त्रैमासको रिर्पोटका अनुसार बैंकहरुको खराब कर्जा बढेर ७ प्रतिशतको हाराहारीमा पुगेको छ। अघिल्लो त्रैमासमा ४ प्रतिशतभित्र सीमित रहेको बैंकहरूको खराब कर्जा बढेर ५ प्रतिशतमाथि पुगेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ प्रतिशत खराब कर्जा पुगेका बैंकहरूले दोस्रो त्रैमासको वित्तीय विवरणमा कुनै पनि सुधार गर्न सकेका छैनन्। बरु स्थिति थप खराब बन्दै गएको छ।
खराब कर्जामा भएको वृद्धिले बैंकहरुको वितरणयोग्य घाटा बढेको छ। जसले सिधै पुँजीकोष प्रभावित भएको छ। कतिपय बैंकहरुको प्राथमिक पुँजीकोष घटेर ७.२३ प्रतिशतको हाराहारीमा आएको छ। खराब कर्जा नोक्सानी खर्च(इम्पियरमेन्ट चार्ज) घटाएर बैंकहरुले खुद नाफा देखाएपनि अधिकांश बैंकहरुको दोस्रो त्रैमासको वित्तीय विवतरण निराशाजनक देखिएको छ।
हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ खुद गरेपनि बैंकको खराब कर्जा ४.९८ प्रतिशत पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ४.९५ प्रतिशत रहेको थियो। यस अवधिमा बैंक ३ अर्ब ९५ करोड वितरणयोग्य घाटा रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य घाटा ४ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो।
विगत दुई वर्ष लाभांश नदिएको एनएमबि बैंकको वित्तीय सुचकमा केही सुधार देखिएको छ। दोस्रो त्रैमासमा बैंकले खुद नाफा ६८.६९ प्रतिशतले बढेको देखाएपनि खराब कर्जा भने बढेर ३.९६ प्रतिशत पुगेको छ।
तुलनात्मकरुपमा एभरेष्ट बैंकले आफ्नो राम्रो वित्तीय विवरणलाई यस त्रैमासमा पनि निरन्तरता दिएको छ।
एभरेष्ट बैंकले २१ प्रतिशतले खुद नाफा बढाउँदै २ अर्ब ७ करोड रुपैयाँ नाफा कमाउन मात्रै सफल भएको छैन वितरणयोग्य नाफा र खराब कर्जा समेत घटाएको छ। गत वर्ष राम्रै लाभांश दिएपनि बैंकको वितरणयोग्य नाफामा पनि बृद्धि देखिएको छ। गत वर्ष २ अर्ब ४० करोड रुपैयाँ रहेको बैंकको वितरणयोग्य नाफा बढेर २ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा बैंकको खराब कर्जा ०.७७ प्रतिशत बाट घटेर ०.६६ प्रतिशतमा आएको छ।
ग्लोबल आईएमई बैंकले असुली बढाएर आफ्नो वित्तीय विवरणमा केही सुधार गर्न खोजेको देखिएको छ। यस अवधिमा ग्लोबल आईएमई बैंकको खुद नाफा ४९.५ प्रतिशतले बढेको छ ।
बैंकको खराब कर्जा भने गत वर्षको तुलनामा सामान्यरुपमा बढेको छ। गत वर्षको दोस्रो त्रैमासमा ४.६८ प्रतिशत रहेको छ।
प्रभु बैंकको खराब कर्जा बढेर ५.०६ प्रतिशत पुगेको छ।
कुमारी बैंकको स्थिति थप नाजुक बन्दै गएको छ। यस अवधिमा राष्ट्र बैंकले प्रोभिजनिङ बढाउँदा खराब कर्जा बढेर ६.९६ प्रतिशत पुगेको छ भने खुद नाफा करिब २८ करोडमा सीमित भएको छ।
एनआईसी एसिया बैंकको अवस्था पनि कुमारी बैंकको भन्दा राम्रो छैन। बैंकले यस अवधिका करिब १५ करोड खुद नाफा गरेको छ भने खराब कर्जा ५ प्रतिशत नजिक पुगेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब ८३ करोड खुद नाफा गरेपनि वितरणयोग्य घाटा बढेर २ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा गरेको थियो।
बैंकको खुद ब्याज आम्दानी सामान्यरुपमा घटेपनि इम्पियरमेन्ट चार्ज २ अर्ब ८६ करोडबाट घटाएर १ अर्ब ७७ करोड रुपैयाँ कायम गरेका बैंकको खुद नाफामा वृद्धि देखिएको हो।
विगत दुई वर्षयता वितरणयोग्य घाटामा रहेकाले लाभांश वितरण गर्न नसकेको यस बैंकको खराब कर्जा पछिल्लो समय बढेर ५.८६ प्रतिशत पुगेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि यस बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि नै थियो।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बैंक लिमिटेडले १० करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिको तुलनामा बैंकको नाफा उल्लेखीय रुपमा घटेको छ भने दोस्रो त्रैमासमा बैंक १४ करोड ११ करोड रुपैयाँले खुद नोक्सानीमा गएको छ।
बैंकको खुद ब्याज आम्दानी बढ्न नसकेकाले बैंकको खुद नाफा घटेको हो। यस अवधिमा बैंकको खराब कर्जा बढेर ४.९९ प्रतिशत पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ४.५० प्रतिशत रहेको थियो।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ६० करोड ७१ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंक ५६ करोड ९० लाख रुपैयाँले वितरणयोग्य घाटामा रहेको थियो।