५८ औं बर्षमा कृषि बिकास बैंकः २०२४ सालदेखि निरन्तर किसानकै सेवामा समर्पित विशिष्टीकृत बैंक
काठमाडौं । नेपालमा पञ्चायती व्यवस्थाले औद्योगिक कलकारखानाहरु फक्रिने अवस्था थिए । उतिबेलाको सरकारले सोच्यो–किसान लक्षित बैंक स्थापना गरेर कृषि उत्पादनमा लगानी बढाउनु पर्छ । सोही उद्देश्यले नेपाल सरकारकै लगानीमा स्थापना भएको कृषि विकास बैंक आजबाट ५७ वर्ष पुरा गरी ५८ औं बर्षमा प्रवेश गर्दैछ ।
५७ वर्षसम्म किसानकै सेवामा समर्पित हुँदै आएको कृषि विकास बैंक आजको अत्याधुनिक बैंकिङ प्रणालीमा पनि किसानलाई सबैभन्दा धेरै लगानी गर्ने देशको अग्रणी बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । स्थापनाका बखतमा बैंकले उत्कृष्ट योगदानकै कारण कृषिजन्य उत्पादनहरु निकै उच्च प्रतिफल दिइरहेको इतिहास छ ।
२०२४ साल माघ ७ गतेबाट कृषि तथा पशुपालनको माध्यमबाट ग्रामिण क्षेत्रको विकास गर्ने उद्देश्यले कृषि विकास बैंकको स्थापना भएको थियो । स्थापनादेखि नै किसान केन्द्रीत रहेर काम गरेको बैंकले २०३२ सालदेखि साना किसान विकास आयोजना सञ्चालन गरी गाउँ गाउँमा आर्थिक गतिविधि बढाउने र जनतालाई कृषि उत्पादनबाट आर्थिक लाभ लिन सिकाउँदै अघि बढेको थियो । २०४१ सालबाट बाणिज्य बैंकिङ कारोबार सुरुवात गरेको बैंकले यस अवधीमा देशका गाउँपञ्चायतहरुमा शाखा सञ्चालन गरेर कृषि तथा पशुपालनमा किसानहरुको आर्थिक बृद्धिमा ऐतिहासिक भूमिका खेलेको थियो । गरिब बस्तीका किसानहरुले बैंकिङ प्रणाली भन्ने कुरा नबुझेकै अवस्थामा गाउँ गाउँमा पुगेर भैसीपालन, बाख्रा पालन र दुधजन्य उत्पादनमा प्रोत्साहन गर्दै अघि बढेको थियो ।
अत्याधुनिक बैंकिङ सेवा प्रवाह गर्ने उद्देश्यले २०६२ सालबाट क बर्गको बाणिज्य बैंकको लाइसेन्स प्राप्त गरी कारोबार गर्दै आइरहेको बैंकले सरकारी बैंकहरुले उत्कृष्ट सेवा प्रवाह गर्दै आइरहेको छ ।
आधुनिक बैंकिङ सेवा प्रवाह गर्ने क्रममा अहिले पनि कृषि विकास बैंक दुर दराजमा रहेको किसान लक्षित लगानीमा कुनै सम्झौता नगरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ बताउँछन् । नेपाल र विदेशमा समेत बैंकिङ प्रणाली सञ्चालन गरी अनुभवसिद्ध गुरुङको नेतृत्वमा बैंकले किसानहरुलाई सहुलियतपूर्ण कर्जाको नेतृत्व गरिरहेको छ ।
‘साझा समृद्धिका लागि सबैको रोजाईको बैंक’ भन्ने मूल नारा लिएर अघि बढिरहेको बैंकले शहरी क्षेत्रमा निक्षेप संकलन गरी ग्रामिण क्षेत्रमा पुगेर किसानहरुलाई कृषि उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आइरहेको छ । आजको अत्याधुनिक सबै प्रकारको बैंकिङ सेवाका अलावा एडिबिएल रेमिट्यान्स सेवा समेत प्रवाह गरी विदेशी भूमिमा आर्जित आम्दानी गाउँ गाउँमा पुर्याउन मद्दत समेत गरिरहेको छ ।
देशका ७७ वटै जिल्लामा पुगेर बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको कृषि विकास बैंक निजि क्षेत्रसँगै प्रतिस्पर्धा गर्दै अघि बढिरहेको छ । पछिल्लो तथ्याङ्क अनुसार कषि विकास बैंकले उद्योग, व्यापार, पूर्वाधार, उर्जा क्षेत्रमा लगानी गरिरहेको छ । कृषि विकास बैंक नेपालको कृषि क्षेत्रमा लगानी गर्ने विशिष्टिकृत वित्तीय संस्थाको रुपमा स्थापित गर्न सफल भइसकेको छ ।
५८ औं बार्षिकोत्सवकै अवसरमा बैंकका सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले बैंकको सेवा प्रवाहमा अझै गुणस्तरीयता कायम गर्ने प्रतिबद्धता जनाएका छन् । निरन्तर सुधार, नविनतम् प्रविधिको सुरक्षित उपयोग, आन्तरिक क्षमता अभिबृद्धिको माध्यमबाट आगामी दिनमा बैंकका सेवाहरुलाई अझै छरितो, उच्च गुणस्तरीय, सुरक्षित र भरपर्दो बनाउँदै देशको आर्थिक विकास, वित्तीय स्थायित्वका लागि काम गर्ने प्रतिबद्धता जननाएका छन् । अध्यक्ष प्रतिबद्धताभित्रै दुर दराजमा रहेको गरिब किसानहरुको आयस्तरमा बृद्धि हुने गरी लगानी गर्ने स्पष्ट बुझ्न सकिन्छ ।
त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ५८ औं बार्षिकोत्सवको अवसरमा आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै बैंकलाई किसानमैत्री, बजारमैत्री बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । सिईओ गुरुङको प्रतिबद्धतामा भनिएको छ, ‘यस ऐतिहासिक घडीमा बैंकले आफ्नो दूरदृष्टि, ध्येय, उद्देश्य एवम् दीर्घकालिन लक्ष्यहरु प्राप्त गर्न एवम् आवश्यकता अनुरुपका बैंकिङ्ग सेवा तथा सुविधा र बढीभन्दा बढी डिजिटल बजारको मागमा आधारित सेवा सुविधामार्फत ग्राहकको पूर्ण सन्तुष्टि, बैंकको समग्र व्यवसाय बृद्धिका लागि दीगो स्रोतको परिचालन, कर्जा लगानीमा बृद्धि एवम् कर्जा मिश्रणको समुचित व्यवस्थापन, गैह्र बैंकिङ सम्पत्ति व्यवस्थापन, विवेकशिल नियम र अन्तर्राष्ट्रिय उच्चतम बैंकिङ्ग अभ्यासहरुको पालना गर्न बैंकि व्यवस्थापन पूर्ण रुपमा कटिबद्ध र क्रियाशिल रहेको छ ।’
विपन्न जनताको उत्थानमा कृषि विकास बैंकः प्रधानमन्त्री केपी शर्मा ओली
कृषि विकास बैंकको ५८ औं बार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै विपन्न बर्गको उत्थान र वित्तीय साक्षरतामा कृषि विकास बैंकको अतुलनीय भूमिका रहेको उल्लेख गरेका छन् ।
विगत पाँच दशकभन्दा लामो समयदेखि ग्रामिणभेगदेखि शहरी क्षेत्रमा बचत परिचालन गरी कृषि तथा अन्य उत्पादनशिल क्षेत्रमा पुँजि प्रवाह गर्न योगदान गरेको स्मरण प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा रहेको कृषि क्षेत्रको थप आधुनिकीकरण, व्यावसायीकण र विविधीकरण गर्दै यस क्षेत्रमा आय र रोजगारी प्रबद्र्धन गर्न बैंकले अग्रणी भूमिका निर्वाह गर्ने विश्वास लिएको छु ।’
कृषि उद्यममा बैंकले नेतृत्वदायी भूमिका अपेक्षा गर्दछुः उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल
कृषि विकास बैंकले ५७ वर्ष पुरा गरी ५८ औं बर्ष प्रवेशको ऐतिहासिक अवसरमा उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले सरकारी लगानीमा सञ्चालित कृषि विकास बैंकले कृषि क्षेत्रमा वित्तीय पहुँच बृद्धि गर्न र हरित अर्थतन्त्रलाई प्रोत्साहन गर्न नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा गरिएको उल्लेख गरेका छन् ।
अर्थमन्त्री पौडेलले बैंकको बार्षिकोत्सवको अवसरमा प्रदान गरेको शुभकामना सन्देशमा भनेका छन्, ‘सहुलियतपूर्ण कर्जा कार्यक्रमको प्रभावकारिता, डिजिटल बैंकिङ कारोबारको विस्तार, लघु, साना मझौता एवम् कृषि उद्यमहरुको वित्तीय पहुँचमा विस्तार हरित अर्थतन्त्रलाई प्रोत्साहन र वित्तीय साक्षरता कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउन बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास मैले लिएको छु ।’