क्रेस्ट माइक्रो लाइफले वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गर्दै

७ माघ २०८१, सोमबार ०९:१४

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि बिक्री गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न अनुमति पाएको हो।

सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीले खरिद गर्न पाउनेछन्। नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कम्पनीले १० प्रतिशत आईपीओ जारी गर्ने मिति तय गरेको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्रीपछि बाँकी बसेको खण्डमा सो समेत समावेश गरेर दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी हुनेछ।

पहिलो चरणको आईपीओ खरिदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था रहेको छ। शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। यसमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यलयका साथै मेरो शेयर अनलाईन प्रयोग गरी आवेदन दिन सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*