नेपाल बैंकको नाफा २१ प्रतिशत घट्यो, प्रतिशेयर आम्दानी कति?

७ माघ २०८१, सोमबार ०७:०६

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकको गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा २१.८७ प्रतिशतले घटेको हो।

बैंकले चालू आर्थिक वर्षको ६ महीनासम्म ४६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले गत आवको यही अवधिमा ५९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको इम्पेयरमेन्ट चार्ज बढेको र सञ्चालन नाफामा संकुचन आएपछि खुद नाफा प्रभावित भएको छ। गत आवको बैंकको इम्पेयरमेन्ट चार्ज २१.६७ प्रतिशतले बढेर चालू आवमा २ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ४५.३५ प्रतिशतले घटेर ४१ करोड ६७ लाख रुपैयाँमा झरेको छ, जुन गत आवमा ७६ करोड २५ लाख रुपैयाँ थियो। चालू आवमा बैंकको खुद ब्याज आम्दानी समेत सामान्य घटेर ४ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ कायम भएको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.४९ प्रतिशतले बढेर ४.९९ प्रतिशत कायम भएको छ। बैंकको आधार दर ६.१६ प्रतिशत छ भने प्रतिशेयर आम्दानी ६.२७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २६१.९६ रुपैयाँ छ।

चुक्ता पूँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको यस बैंकको रिटेन्ड अर्निङमा ६० करोड ७१ लाख रुपैयाँ र रिजर्भमा २३ अर्ब १९ करोड रुपैयाँ सञ्चिति रहेको छ। बैंकद्वारा ग्राहकमा प्रवाहित कर्जा २ खर्ब ९ अर्ब २७ करोड ९० लाख रुपैयाँ छ भने निक्षेप संकलन ३ खर्ब ५ अर्ब ९८ करोड ३४ लाख रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*