नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय विवरणमा झल्कियो प्रगति, नाफासँगै इपीएस पनि उल्लेख्य बृद्धि
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको मुनााफा, ब्याज आम्दानी तथा प्रतिशेयर आम्दानी लगायतका सूचकमा रौनकता छाएको छ ।
समीक्षा अवधिमा बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७ प्रतिशतले बृद्धि भएको छ । बैंकले चालु आवको ६ महिनामा २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ८० करोड १९ लाख रुपैयाँ बराबर मुनाफा आर्जन गरेको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानीमा सामान्य गिरावट आएको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको ब्याज आम्दानी २.३७ प्रतिशतले घटेर ७ अर्ब ५४ करोड रुपैयाँबाट ७ अर्ब ३६ करोड पुगेको छ । साथै, बैंकको खुद फि तथा कमिशन आम्दानी ३२.८० प्रतिशत बढेर ७५ करोड ७३ लाख रुपैयाँबाट १० करोड पाँच लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ८६ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ७७ करोड २५ लाख रुपैयाँमा झरेको छ । जसका कारण बैंकको सञ्चालन मुनाफा ३३.६९ प्रतिशत बढेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ४ पैसा बढेर १६ रुपैयाँ ६० पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १२.७१ गुणा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २९ अर्ब २ करोड ६९ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा बैंकले ४ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।