प्रधानमन्त्री ओलीको आग्रह- ‘विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौ, आफै उठाएर ठूला आयोजना बनाउँ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ऊर्जामा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ औं वार्षिकोत्सव ‘इप्पान रजतजयन्ती, २०८१’ को अवसरमा उनले ठूला ठूला आयोजनाहरुमा लगानी गर्न आग्रह गरे ।
‘तपाईहरु लगानी गर्नुस् । अरुलाई ल्याउँदै खोला दिँदै गरिरहनुपर्दैन,’ उनले भने, ‘अप्पर अरुण अरुले पैसा नदिने भएर समस्या भएको हो । आफै आफै उठाउ न । ठूलो कुरा मानिसहरुको सहभागिता हो । ठूला ठूला आयोजना विदेशी सहायताले चलेका छैनन् ।’
उनले ऊर्जा उत्पादक निजी क्षेत्रलाई देशका लागि केहि गरेको भन्दै आभार व्यक्त गरे । ‘देशलाई विकासको बाटोमा लैजाने कुरामा खर्च गर्नु भएको छ । यो राष्ट्रिय भावनालाई सम्मान छ । कति मान्छेले हुन्डि गरेर पैसा बाहिर पुर्याउन खोजेका हुन्छन् । तपाईहरुले यहि लगानी गरेर देशको विकास गर्न खोज्नु भयो । गर्यो भने हुन्छ भन्ने सफलताका कथाहरु भनिरहनु भएको छ,’ उनले भने, ‘९५ प्रतिशत माथि विद्युतीकरण भइसकेको छ । ग्रीन हाइड्रोजनमा अध्ययन भइरहेको छ । हामी काम गर्न सक्छौ ।’
उनका अनुसार ऊर्जा बिक्रीको जुन चिन्ता छ, त्यो चिन्ता गर्न पर्ने विषय होइन् । ‘ऊर्जाले खपतका ठाउँहरु आफै बनाउँछ ।धौ वादीबाट फलाम खानी उत्खनन हुँदैछ । त्यहाँबाट उत्खनन गरेर फलाम बनाउने हो । ऊर्जा नभए कुटोले उत्खनन गर्न सकिदैन्,’ उनले भने, ‘मल उद्योग खोल्नुछ । अरु उद्योगहरु ब्युताउनुपर्नेछ । विभिन्न मोडल अपनाएर चला उनुपर्नेछ । त्यसका लागि ऊर्जा चाहिन्छ ।’
प्रधानमन्त्री ओलीले जनकपुर चुरोट कारखाना कसले खायो? भन्दै प्रश्न गरे । ‘ ५०० कर्मचारीले ले काम हुने ठाउँमा २७०० कर्मचारी भयो । ६ महिनामा सरकार परिवर्तन हुने भयो । सबै मन्त्रीले आफ्ना मान्छे जागिरमा लगाउने भए । ओभर स्टाफिङका कारणक उद्योग नै समाप्त भयो । कारण अरु पनि छन्,’ उनले भने,’प्राकृतिक रुपले सम्पन्न छौं । विकास चाहिन्छ वातावरण चाहिन्छ । इकोसिस्टम कायम राख्नु छ। संगसंगै विकास पनि गर्नुछ । ‘
उनले मान्छे पस्न नपाउने वन के काम ? भन्दै प्रश्न गरे । ‘नीतिहरु काम गर्नका लागि हुन रोक्नका लागि होइन् । ऊर्जामा रहेका समाधान गर्न सरकार तत्पर छ ,’ उनले भने, ‘नागरिकको लगानी डुबे डुबोस भन्ने हुँदैन ।’
प्रधानमन्त्री ओलीका अनुसार नेपालमा अहिले साढे ३ सय बाघ छन् । ‘अब पनि डबल गर्ने ?,’उनले भने, ‘ अमेरिका गएका केटाकेटीको पछि लाग्ने ?, बाघ घटाउनुपर्छ । बाघको सुरक्षा गर्ने तर मान्छेको नगर्ने भन्ने हुँदैन ।’