बागमती प्रदेश सरकारको बजेट ६ महिनामा १६ प्रतिशतमात्र खर्च
४ माघ २०८१, शुक्रबार ११:५९
काठमाडौँ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कुल बजेटको १६.२७ प्रतिशत मात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ ।
चालु आवका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट ल्याएकामा पुससम्म १० अर्ब ५० करोड २९ लाख ९ हजार खर्च भएको छ । चालुको तुलनामा पुँजीगत खर्च कम भएको समेत मन्त्रालयले जनाएको छ ।
विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४१.५६ प्रतिशत, प्रदेशसभा सचिवालयले २८.३६ प्रतिशत बजेट खर्च गरेको छ । सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले ४.६ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।