सरकारलाई अल्टिमेटम दिदै निर्माण व्यवसायी महासंघद्वारा आन्दोलनको घोषणा

३ माघ २०८१, बिहीबार १४:२२

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना १४ बुँदे मागप्रति सरकार गम्भीर नभएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघले माघ १५ गतेसम्म आफ्ना माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ।

महासंघले माघ १५ सम्म प्रधानमन्त्री, सम्बन्धित मन्त्री, प्रदेशका मुख्यमन्त्रीलगायत निकायमा ज्ञापनपत्र बुझाउने जानकारी गराएको छ। महासंघका अध्यक्ष रवि सिंहका अनुसार उक्त समयसीमाभित्र माग पूरा नभए माघ १८ गते माइतीघर मण्डलामा धर्ना, माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना र माघ २१ देखि राजधानी प्रवेश गर्ने पूर्व र पश्चिमका नाका ठप्प पार्ने चेतावनी दिइएको छ।

यसका साथै, माग सम्बोधन नगरिए राष्ट्रिय गौरवका आयोजना लगायतका सबै खालका निर्माण कार्य ठप्प पार्ने घोषणा महासंघले गरेको छ। अध्यक्ष सिंहले पर्याप्त बजेट विनियोजन नगरेको कारण आयोजना सम्पन्न गर्न समय लागे पनि दोष निर्माण व्यवसायीलाई लगाइने गरेको गुनासो गरे।

सिमेन्ट, डन्डी लगायत निर्माण सामग्रीमा चर्को मूल्यवृद्धि, भुक्तानी समस्या, सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनमा देखिएको म्याद थपसम्बन्धी कानुनी जटिलता, निर्माण व्यवसायीलाई दिइएको ऋण सुविधाको कटौती, र विगतका सहमति कार्यान्वयन नभएको विषयलाई महासंघले मुख्य समस्याको रूपमा औंल्याएको छ।

महासंघले पटक–पटक सरकारलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएको भन्दै अब सशक्त आन्दोलन गर्न बाध्य भएको बताएको छ। महासंघका अनुसार निर्माण व्यवसायीहरूले भुक्तानी नपाउने, कानुनी समस्याले आयोजना रोकिने, र सरकारले आर्थिक भारको व्यवस्थापन नगर्ने समस्या झेलिरहेका छन्। सरकारले व्यवसायीका समस्या समाधान नगरे आन्दोलनलाई थप सशक्त बनाउने महासंघले चेतावनी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*