गार्डियन माइक्रो लाइफको आइपीओ आइतबार बाँडफाँट हुने, १ लाख ८४ हजार जना मालामाल
काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ आइतबार अर्थात् माघ ६ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार बुधबार प्रिअलटमेन्ट भएको हुँदा आइतबार शेयर बाँडफाँट हुने छ । बाँडफाँटको समय भने तय भइसकेको छैन ।
कम्पनीको आइपीओमा १७ लाख २३ हजार ९३१ जनाको हात रित्तो हुने छ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १९ लाख ८ हजार ३३१ जनाले २ करोड ५२ लाख ७ हजार ६९० कित्ताका लागि आवेदन दिएका थिए । जस मार्फत २ अर्ब ५२ करोड ७ लाख ६९ हजार रुपैयाँ संकलन भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन परेको हुँदा आइपीओ बाँडफाँट गोलाप्रथाबाट हुनेछ ।
गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुँदा १ लाख ८४ हजार ५०० जनाले १०।१० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।