साना तथा मझौला कम्पनीलाई आइपीओ निष्कासन गर्ने नियमावली लागू, कति कित्तासम्म दिन पाईन्छ आवेदन ?

३ माघ २०८१, बिहीबार १३:३४

काठमाडौं । साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ आजदेखि लागू भएको छ।नियमावलीको आवश्यक कार्यान्वयनका लागि नेपाल धितोपत्र बोर्डले नेप्से र सिडिएस एण्ड क्लियरिङ्गलाई पत्राचार गरेर जानकारी गराईसकेको छ।

बोर्डका अनुसार बढीमा २५ करोड रुपैयाँ चुक्ता पुँजी भएका कम्पनीले यो नियमावली अनुसार आईपीओ निष्कासन गर्न सक्नेछन् ।साना कम्पनीले निष्कासन गरेको सेयरमा न्यूनतम ५०० कित्ता सेयरमा आवेदन दिनुपर्ने छ ।

सेयर निष्कासनको लागि खुला गरिएको धितोपत्र बिक्री बन्द भएको मितिले १५ दिनभित्र बाँडफाँट गर्नुपर्ने छ । संस्थाको उपस्थिती र बजारको अवस्था हेरी अर्थ मन्त्रालयको स्वीकृलि लिई बोर्डले अधिकतम सिमा घटाउन वा बढाउन सक्नेछ।

कम्पनीले जारी पुँजीको ३० प्रतिशत भन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहसने गरी सेयर निष्कासन गर्न सक्नेछन् । सेयर निष्कासन गर्न पब्लिक कम्पनी भएर कारोबार सञ्चालन गरेको १ वर्ष पुरा गरेको, मर्चेन्ट बैंकर र योग्य संस्थागत लगानीकर्ताले खरिद गरेको धितोपत्र सर्वसाधारणलाई धितोपत्र बाँडफाँट भएको मितिले तीन वर्षसम्म बिक्री वा हस्तान्तरण गर्न पाइने छैन ।

रेटिङ आवश्यक परेमा बोर्डले रेटिङ गराउन निर्देशन दिन सक्नेछ । रेटिङ नगरी पनि सेयर निष्कासन गर्न पाउन सक्ने व्यवस्था रहेको छ।

कम्पनी धितोपत्रमा दर्ता हुनका लागि वार्षिक लेखापरीक्षण गरेको, साधारणसभा सम्पन्न भएको र संस्थापकले लिन कबुल गरेको धितोपत्रको रकम रकम शतप्रतिशत चुक्ता भइसकेको हुनुपर्ने शर्त राखिएका छन् ।

नियमावलीको मस्यौदाअनुसार यस्ता कम्पनीले क्रेडिट रेटिङ गर्न अनिवार्य हुने छैन । तर धितोपत्र बोर्डले त्यस्ता कम्पनीको क्रेडिट रेटिङ गर्न आवश्यक देखेमा त्यसका लागि निर्देशन दिनसक्ने व्यवस्था मस्यौदामा राखिएको छ । यस्ता कम्पनी दर्ता भएर सार्वजनिक निष्काशनमा जाँदा सर्वसाधारण लगानीकर्ताले खरिद गर्न पाउने न्यूनतम शेयर सङ्ख्या पनि नियमावलीमार्फत तोक्न लागिएको छ ।

‘आवेदकले निष्काशन गरिने शेयरमध्ये न्यूनतम न्यूनतम दुई सय ५० कित्ता खरिदका लागि दर्खास्त दिनुपर्नेछ’, नियमावलीको मस्यौदामा भनिएको छ । तर, प्रारम्भिक निष्काशनमा शेयर खरिदका लागि दरखास्त आह्वान गर्दा प्रतिशेयरको अङ्कित मूल्यको ५० प्रतिशतभन्दा बढी रकम लिन पाइने छैन । यद्यपि, सङ्गठित संस्थाले आफ्नो अघिल्लो तीन वर्षको वासलात प्रकाशन गरी पुँजी सङ्कलन गर्दा ५० प्रतिशतभन्दा बढी रकमसहित दरखास्त माग गर्न सक्नेछन् ।

यस्ता कम्पनीले निश्चित शर्त पूरा गरेपछि प्रिमियममा पनि धितोपत्रको निष्काशन गर्न सक्नेछन् । ‘सङ्गठित संस्था लगातार पछिल्लो तीन वर्षसम्म खुद मुनाफामा सञ्चालनमा रहेको, प्रतिशेयर चुक्ता पुँजीभन्दा प्रतिशेयर नेटवर्थ बढी भएको, औसत वा सोभन्दा माथिको क्रेडिट रेटिङ पाएको र साधारणसभाले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने निर्णय गरेको हुनुपर्नेछ’, मस्यौदामा भनिएको छ ।

यस्ता शर्त पूरा गरेका कम्पनीले पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरणअनुसारको प्रतिशेयर नेटवर्थको दुई गुणासम्म निष्काशित मूल्य तोक्न सक्नेछन् ।
धितोपत्र निष्काशन गरेका यस्ता कम्पनीले त्यसको कारोबारका लागि सम्बन्धित धितोपत्र बजार (हालको नेपाल स्टक एक्सचेञ्ज) मा सूचीकरण हुनुपर्नेछ । यो नियमावलीको मस्यौदाबमोजिम सूचीकृत धितोपत्रको कारोबार सञ्चालन हाल सञ्चालनमा रहेको मुख्य प्रणाली (मेन प्लाटफर्म) मातहत वा छुट्टै साना तथा मझौला सङ्गठित संस्थाको कारोबार प्रणाली (एसएमईज प्लाटफर्म) सिर्जना गरी स्वचालित विद्युतीय कारोबार प्रणालीमार्फत् गर्नुपर्नेछ ।
यस्तो कारोबार प्रणालीमा मूल्य तथा समय प्राथमिकता (प्राइस टाइम प्रायोरिटी) को आधारमा कारोबार हुने व्यवस्था मिलाउनुपर्नेछ । नेप्सले प्रत्येक दुई वर्षमा उक्त कारोबार प्रणालीको सम्परीक्षण (सिस्टम अडिट) गराउनुपर्नेछ र सोको प्रतिवेदन धितोपत्र बोर्डमा बुझाउनुपर्नेछ ।

सूचीकरण खारेज (डिलिस्टिङ)सम्बन्धी व्यवस्था पनि मस्यौदामा राखिएको छ । यस्ता संस्थाहरु एक आपसमा गाभिएमा वा प्राप्ति भएमा नयाँ कायम हुने संस्थाको धितोपत्र सूचीकरण हुनेगरी पूराना कम्पनीको सूचीकरण खारेज हुनेछ ।
त्यस्तै सूचीकरणको वार्षिक शूल्क नबुझाएको कारणले धितोपत्र बजारमा लगातार दुई वर्षसम्म कारोबार स्थगन भएमा पनि सूचीकरण खारेज हुने व्यवस्थासहित मस्यौदा तयार पारिएको छ ।

धितोपत्रको कारोबार, मूल्य परिवर्तन सम्बन्धी सीमा, धितोपत्र कारोबारको संख्या तोक्नसक्ने व्यवस्था, सर्किट ब्रेकरसम्बन्धी व्यवस्था, धितोपत्रको कारोबार स्थगन गर्न सक्नेलगायतका विषयहरु पनि मस्यौदामा राखिएका छन् ।

त्यस्तै, धितोपत्र बजारले खडा गरेको राफसाफसम्बन्धी कोषलाई साना तथा मझौला व्यवसायको कारोबारका लागि पनि प्रयोगमा ल्याइने व्यवस्था राखिएको छ ।

सर्वसाधारणका लागि प्राथमिक निष्काशन गरिएको धितोपत्र बाहेक अन्य धितोपत्र सङ्गठित संस्थाले सर्वसाधारण समूहको लागि प्राथमिकत सार्वजनिक निष्काशन गरी शेयर बाँडफाँट भएको मितिले पाँच वर्ष पूरा नभई बिक्री वितरण गर्न पाइने छैन ।

तर प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल, हेज फन्ड वा यस्तो प्रकारको कोषका रुपमा बोर्डमा वा विदेशमा दर्ता भएको कोषको स्वामित्वमा रहेको धितोपत्रको हकमा यो लागू हुने छैन । साना तथा मझौला कम्पनी पुँजीबजारमा सूचीकृत हुँदा धितोपत्रको अङ्कित मूल्य भने प्रतिकित्ता रू सय हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*