बैंकबाट ऋण लिएर घर बनाउने बढेः ५ महिनामा वाणिज्य बैंकले दिए ३ खर्ब १९ अर्ब आवासीय कर्जा, कुनले कति ?
काठमाडौँ । पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत आवासीय घर निर्माणका लागि कर्जाको प्रवाह तीव्र रूपमा वृद्धि भएको छ । बैंकहरूले २ करोडसम्मको घर कर्जा प्रदान गर्ने प्रावधान राखेपछि धेरै नागरिक बैंक कर्जाबाट आफ्नो घर निर्माण गर्न प्रेरित भएका छन् । यो कर्जाको मागले घरजग्गा क्षेत्रलाई फेरि सक्रिय बनाएको छ ।
ब्याजदर घट्दै गएको र बैंकिङ प्रणालीमा तरलता बढेको कारणले घर कर्जामा वृद्धि भएको हो। निक्षेपको ब्याजदर घट्नाले बैंकहरूको लागत कम भएको छ, जसले कर्जाको ब्याजदर पनि सस्तो बनाएको छ। सस्तो ब्याजदर र सहज कर्जा उपलब्धताले नागरिकलाई घर निर्माण तथा खरिदमा थप उत्साहित बनाएको छ ।
बैंकहरूले आकर्षक योजनाहरू ल्याउन थालेपछि कर्जा प्रतिस्पर्धा बढेको छ। एकल अङ्कको ब्याजदर र फिक्स्ड ब्याजदरमा कर्जा प्रदान गरिनुले नागरिकका लागि थप अवसर सिर्जना गरेको छ। यसले नागरिकलाई मात्र नभई बैंकहरूको कर्जा विस्तारमा पनि सकारात्मक प्रभाव पारेको छ ।
चालु आर्थिक वर्षको पाँच महिना वाणिज्य बैंकहरुले ब्यक्तिगत घर बनाउनका लागि ३ खर्ब १९ अर्ब ८१ करोड ४२ लाख रुपैयाँ कर्जा दिएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५.१९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पाँच महिनामा बैंकहरुले ३ खर्ब ४ अर्ब ३ करोड ५३ लाख रुपैयाँ घर कर्जा दिएका हुन् ।
चालु आर्थिक वर्षको पाँच महिनामा व्यक्तिगत घर बनाउनका लागि सर्वाधिक कर्जा दिनेमा एनआइसी एशिया बैंक रहेको छ । बैंकले ५३ अर्ब ९६ करोड ७८ लाख कर्जा प्रदान गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९.९४ प्रतिशतले कम हो ।
सर्वाधिक ब्यक्तिगत घर कर्जा दिने दोसा्रे नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा ग्लोबल आइएमईले ब्यक्तिगत घर कर्जा २६.२१ प्रतिशतले बढेर ३६ अर्ब ६७ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, नबिल बैंकले समिक्षा अवधिसम्ममा ब्यक्तिगत घर कर्जा मार्फत २६ अर्ब ८८ करोड ५७ लाख रुपैयाँ दिएको छ । राष्ट्रिय वाणिज्य बैंकले ब्यक्तिगत घर कर्जा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १७.७९ प्रतिशतले बढेर २६ अर्ब ४९ करोड ५७ लाख, एभरेष्ट बैंकको १.८७ प्रतिशतले घटेर २२ अर्ब ७२ करोड, लक्ष्मी सनराइज बैंकको ९.३० प्रतिशतले घटेर १८ अर्ब, एनएमबि बैंकको ८.१२ प्रतिशतले बढेर १६ अर्ब २६ करोड, प्रभु बैंकको ६.९३ प्रतिशतले घटेर १३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।
व्यक्तिगत घर बनाउनका लागि सिद्धार्थ बैंकले १२ अर्ब ९३ करोड, कुमारी बैंकले १२ अर्ब ७० करोड, कृषि विकास बैंकले ११ अर्ब १६ करोड, सिटिजन बैंकले १० अर्ब ३३ करोड, नेपाल बैंकले १० अर्ब १४ करोड, सानिमा बैंकको ९ अर्ब १९ करोड, स्टान्डर्ड चाटर्डको ८ अर्ब ७९ करोड, प्राइम बैंकले ८ अर्ब ३० करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले ७ अर्ब ५६ करोड, माछापुच्छ्रे बैंकले ६ अर्ब ३५ करोड, हिमालय बैंकले ५ अर्ब ४ करोड र नेपाल एसबिआई बैंकले २ अर्ब ३५ करोड रुपैयाँ कर्जा दिएको हो ।