नेपाल सरकारले जारी गरेका अध्यादेशमा महासंघको स्वागत, आर्थिक सुधारका लागि महत्वपूर्ण पहल
काठमाडौँ । नेपाल सरकारद्वारा मुलुकको अर्थतन्त्र सुधार र लगानी मैत्री वातावरण निर्माणका लागि जारी गरिएका अध्यादेशहरूको नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ। महासंघले सरकारको उक्त पहललाई शुसासन र आर्थिक सुधारका दृष्टिले महत्वपूर्ण कदम मान्दै यसलाई स्वागत गरेको हो।
बुधवार, प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बालुवाटारमा भएको कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरू, उद्योगी व्यवसायीहरू र महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारको यस कदमको सराहना गरेका छन्। अध्यक्ष ढकालले भने, “निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका आर्थिक मुद्दाहरूलाई सम्बोधन गर्नु मुलुकको गिर्दो अर्थतन्त्र सुधारका लागि थालिएको संवेदनशील प्रयास हो।”
उनले थपे, “कोभिडपछि अर्थतन्त्रमा देखिएको संकुचनको अवस्थालाई हेरेर, अर्थतन्त्रलाई पुनः गतिशील बनाउन धेरै पुराना कानून बाधक बनेका थिए। ती कानूनहरुलाई समयानुकूल बनाउन हामीले आग्रह गरेका थियौं, र यसका लागि सरकारले गरेको निर्णयले निजी क्षेत्रलाई उत्साहित गरेको छ। ”
महासंघका अध्यक्ष ढकालले सरकारको यो पहलको सकारात्मक कार्यान्वयनका लागि आवश्यक नियमावली र कार्यविधिहरू छिटो लागू गर्न आग्रह गरे। उनले विशेषगरी, विदेशी विनियमको नियमितीकरण, कालाबजारी रोकथाम, राजश्व न्यायाधिकरण र अन्य कर सुधारका विषयमा पनि सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याए।
यस्तै, अध्यक्ष ढकालले कम्पनी बन्द गर्दा हुने समस्याहरूको समाधानका लागि गरिएको व्यवस्थाको सकारात्मक असर पनि भएको बताए। विशेष आर्थिक क्षेत्रमा सेवा उद्योगलाई स्थान दिने र थप सुविधा दिने निर्णयलाई पनि महासंघले स्वागत गरेको छ।
महासंघका अध्यक्षले भने, “सरकारी सेवा प्रवाहलाई छिटो र छरितो बनाउन गरिएका प्रयास सराहनीय छन् र यसबाट सकारात्मक नतिजा आउन सक्छ।”
व्यवसाय दर्तामा अझै समस्या रहेका बारेमा पनि उनले चिन्ता व्यक्त गर्दै, व्यवसाय दर्ता प्रक्रिया सजिलो बनाउन र युवाहरूलाई परियोजना धितोमा कर्जा उपलब्ध गराउनको लागि पहल गर्न आग्रह गरे।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मर्यादाक्रमको विषयलाई सरकारद्वारा संवेदनशील रूपमा लिइएको भन्दै, सरकारी प्रयासले निजी क्षेत्रलाई निर्वाध काम गर्ने वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरे।
यस कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल, नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटाले पनि सरकारद्वारा ल्याइएका अध्यादेशहरूको स्वागत गरेका थिए।