धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्ने
२ माघ २०८१, बुधबार १३:३५
काठमाडौँ। नेपाल धितोपत्र बोर्डले अक्षय कोषमा रहेको लगानीयोग्य रकमलाई छ महिनाका लागि मुद्दती निक्षेपमा राख्न प्रस्ताव आह्वान गरेको छ। बोर्डले ‘क’ वर्गका वाणिज्य बैंकहरूसँग छ महिनाको ब्याजदरसहित शिलबन्दी प्रस्ताव माग गरेको हो।
इच्छुक बैंकहरूले आजको मितिबाट तीन कार्यदिनभित्र शिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ। बोर्डले शिलबन्दी फाराम आफ्नो वेबसाइटमार्फत प्राप्त गर्न सकिने जानकारी दिएको छ।
प्रस्तावसँग सम्बन्धित थप जानकारी आवश्यक परेमा बोर्डको लेखा तथा वित्त शाखामा सम्पर्क गर्न भनिएको छ। पेश गरिएका शिलबन्दी प्रस्तावहरू सोही दिन अपराह्न १ः३५ बजे बोर्डको कार्यालय, खुमलटार, ललितपुरमा खोलिने सूचनामा उल्लेख गरिएको छ।