गुणस्तरीय शिक्षा सुधारमा सरोकारवालाको भूमिका
“गुणस्तरीय शिक्षा भनेको भविष्यको जग हो, जसले व्यक्तिलाई सक्षम बनाउँछ र राष्ट्रलाई समृद्धिको मार्गतर्फ डोर्याउँछ।”
शिक्षा प्राप्त गर्ने प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकार एवं संविधान प्रदत्त मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गरी शिक्षालाई लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद उन्मुख राष्ट्र निर्माणमा केन्द्रित गर्दै शिक्षामा सबैको सहज एवं समतामूलक पहुँच र निरन्तरता सुनिश्चित गर्न राज्यले परिकल्पना सँगै प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षामा समतामुलक पहुँचको अधिकार संविधानले नै सुनिश्चित गरेको छ । नागरिकलाई आधारभूत तहसम्मको शिक्षा प्रदान गर्ने दायित्व र तत्सम्बन्धी आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको हुने व्यवस्था गरेको छ । शिक्षा प्राप्त गर्ने प्रत्येक व्यक्तिको आधारभूत मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको मान्यता अनुरुप शिक्षामा सबैको सरल, सहज र समतामूलक पहुँच सुनिश्चित गर्न एवं शिक्षालाई सर्वव्यापी, जीवनोपयोगी, प्रतिस्पर्धी एवं गुणस्तरयुक्त बनाउन नयाँ शिक्षा नीति निर्माण भई कार्यान्वयन भएको छ।
गुणस्तरीय शिक्षा कुनै पनि व्यक्तिको ज्ञान, सीप र मूल्य प्रणालीलाई सुधार गर्दै आफु सँगै समाजलाई सशक्त र समृद्ध बनाउन सक्छ । शिक्षा व्यक्तिको मात्र नभई समाज र राष्ट्रको विकासको मेरुदण्ड हो । शिक्षा प्रणालीलाई सुधार गर्दै गुणस्तरीय बनाउनु भनेको शिक्षा क्षेत्रमा संलग्न सबै सरोकारवालाहरूको सहकार्य र समन्वयको उपज हो । गुणस्तरीय शिक्षा सुधारमा सरोकारवालाहरूको भूमिकालाई प्रभावकारी बनाउन उत्तरदायित्व, प्रतिबद्धता, र दीर्घकालीन सोच आवश्यक छ ।
दिगो विकास लक्ष्य नं ४ मा गुणस्तरीय शिक्षाः समावेशी तथा न्यायोचित र गुणात्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागि जीवनपर्यन्त सिकाइका अवसरहरु प्रवर्द्धन गर्ने लक्ष्य सन् २०३० सम्म तोकिएका सूचक पुरा गर्ने वाचा अन्तर्राष्ट्रिय स्तरमा घोषणा गरेको छ । उक्त लक्ष्य पुरा गर्ने हरेक व्यक्ति तथा निकायको महत्त्वपूर्ण भूमिका रहन्छ ।
गुणस्तरीय शिक्षाको आवश्यकता
शिक्षा कुनै पनि समाजको विकास, रूपान्तरण र समृद्धिको आधारस्तम्भ हो । तर शिक्षा मात्र पर्याप्त हुँदैन, त्यो गुणस्तरीय हुनुपर्छ । गुणस्तरीय शिक्षा भनेको यस्तो शिक्षा हो, जसले व्यक्तिलाई सशक्त, समाजलाई सभ्य र राष्ट्रलाई समृद्ध बनाउन योगदान पुर्याउँछ । नेपाल जस्तो विकासोन्मुख देशमा दिगो विकास, सामाजिक न्याय र आर्थिक प्रगतिका लागि गुणस्तरीय शिक्षाको आवश्यकता अझ बढी महत्त्वपूर्ण छ ।
गुणस्तरीय शिक्षाको आवश्यकता किन छ ?
१. व्यक्तिगत विकास
-गुणस्तरीय शिक्षाले व्यक्तिलाई ज्ञान, सीप, र दृष्टिकोण प्रदान गर्छ।
-यो शिक्षा व्यक्तिको सोच र निर्णय क्षमतामा सुधार ल्याउँछ।
-जीवन उपयोगी सीप, समस्या समाधान क्षमता, र सिर्जनात्मक सोच विकास गराउँछ।
-व्यक्तिलाई आत्मनिर्भर र रोजगार योग्य बनाउँदै आर्थिक सम्पन्नताको मार्ग प्रशस्त गर्छ।
२. सामाजिक रूपान्तरण
-शिक्षा समाजको परिवर्तनको प्रमुख साधन हो ।
-गुणस्तरीय शिक्षाले सामाजिक असमानता, अज्ञानता, र कुरीतिहरू हटाउँछ।
-लैङ्गिक समानता, मानव अधिकार, र सामाजिक समावेशीकरणका सिद्धान्तलाई स्थापित गर्छ।
-शिक्षाले सहिष्णुता, सद्भाव, र जिम्मेवारीयुक्त नागरिकता प्रवर्द्धन गर्दछ।
३. राष्ट्रिय विकास
-गुणस्तरीय शिक्षा राष्ट्रको विकासको मेरुदण्ड हो।
-यो शिक्षाले दक्ष जनशक्ति उत्पादन गर्दै औद्योगिक र आर्थिक विकासमा योगदान पुर्याउँछ।
-दिगो विकासका लागि आवश्यक वैज्ञानिक अनुसन्धान, प्रविधिको प्रयोग, र नवीन सोचलाई प्रवर्द्धन गर्छ।
-शिक्षाले सुशासन, शान्ति, र समृद्धिका लागि सक्षम नेतृत्व तयार पार्छ।
४. दिगो विकासका लक्ष्य
-संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यले सबैका लागि समावेशी र समान गुणवत्तायुक्त शिक्षाको आवश्यकता औंल्याएको छ ।
-गुणस्तरीय शिक्षाले दिगो विकासका १७ लक्ष्यहरू पूरा गर्न सहयोग पुर्याउँछ ।
-गरिबी निवारण, स्वास्थ्य सेवा सुधार, र वातावरणीय संरक्षणजस्ता चुनौतीहरूको समाधान शिक्षाबाट सम्भव छ ।
५. वैश्विक प्रतिस्पर्धात्मकता
-गुणस्तरीय शिक्षाबिना व्यक्ति र राष्ट्रले वैश्विक प्रतिस्पर्धामा उभिन सक्दैन ।
-यो शिक्षाले प्रविधि, विज्ञान र नवप्रवर्तनमा जनशक्तिलाई दक्ष बनाउँछ ।
-राष्ट्रलाई विश्वव्यापी आर्थिक प्रणालीमा प्रतिस्पर्धा गर्न सक्षम बनाउँछ ।
६. सुशासन र नेतृत्व विकास
-शिक्षाले मात्र समाजमा पारदर्शिता, जवाफदेहिता, र सुशासनका मूल्यहरू स्थापित गर्न सक्छ ।
-गुणस्तरीय शिक्षाले सक्षम, इमानदार र नीतिनिर्माणमा सक्षम नेतृत्व तयार पार्छ ।
-प्रविधिको प्रयोग गरी शिक्षामा डिजिटल प्रविधि, ई-लर्निङ र अनलाइन स्रोतको प्रयोग बढाउन ।
गुणस्तरीय शिक्षा सुधारमा सरोकारवालाको भूमिका
गुणस्तरीय शिक्षा सुधारमा विभिन्न निकायको महत्त्वपूर्ण भूमिका रहन्छ । यी निकाय वा सरोकारवालाहरुविच एक अर्कामा अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । जहाँ एउटाको निष्क्रियतामा शिक्षालाई व्यवस्थित, प्रभावकारी,नतिजामूलक, उत्पादनमूलक, प्रतिस्पर्धी, जिवनोपयोगी तथा गुणस्तरयुक्त बनाउन असम्भव हुन्छ । शिक्षा सबैको साझा एजेण्डा हो र हुनुपर्दछ । हामीले शिक्षा समतामूलक पहुँच, सामाजिक न्याय, समन्यायिक अवसर र सुशासन कायम गर्न राज्यका प्रभावकारी नीति र सरोकारवालाको अर्थपूर्ण सहभागिता तथा भूमिका हुन निकै आवश्यक देखिन्छ । राज्यले शिक्षामा गरेको लगानीको सहि सदुपयोग र लगानीको तथ्यमा विश्लेषण गरी भावी रणनीति निर्माणमा अभिभवाकको भूमिकालाई सुनिश्चित गर्नुपर्दछ । लगानीले मात्र गुणस्तरीय शिक्षाको परिकल्पना बालुवामा पानी जस्तै हो । लगानी सँगै नतिजाको खोजी र समीक्षा गर्नुपर्दछ । समीक्षा गर्न सक्ने जनशक्ति स्थानीय स्तरमा उपलब्ध हुनुपर्ने देखिन्छ । समयानुकुल शिक्षक ब्यवस्थापन, दरबन्दी मिलान, शिक्षक तालिम, अभिभावक सचेतीकरण अभियान, विद्यालयलाई प्रविधिमैत्री तथा बालमैत्री बनाइ शिक्षालाई सामयिक बनाउन जरुरी छ । त्यसैले सरोकारवालाको भूमिकालाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ ।
१. विद्यालयको भूमिका
विद्यालय शिक्षाको केन्द्र हो । यो गुणस्तरीय शिक्षाका लागि आधारभूत पूर्वाधार र शैक्षिक वातावरण उपलब्ध गराउने थलो पनि हो ।
-विद्यालयहरूले बालमैत्री वातावरण सिर्जना गर्नुपर्छ ।
-अभिभावकलाई विद्यालय प्रति अपन्वतबोधको भावना अभिवृद्धिको वातावरण निर्माण गर्नुपर्छ ।
-विद्यार्थीहरूको व्यक्तिगत आवश्यकतालाई ध्यानमा राखी अतिरिक्त कक्षाको व्यवस्था गर्नुपर्छ ।
-व्यवस्थापन समितिहरूले विद्यालयको प्रगति, समस्या र योजनामा सरोकारवालासँग छलफल गरी सुधारका कार्यक्रम ल्याउनुपर्छ ।
-अभिभावक प्रति जवाफदेही, पारदर्शी र उत्तरदायि हुनुपर्छ ।
-विद्यालयलाई प्राज्ञिक थलोको रुपमा बोध गराउन विभिन्न शैक्षिक कार्यक्रमको व्यवस्था गर्नुपर्छ ।
-शिक्षाको त्रिपक्षीय सम्बन्धलाई जिवन्त राख्नुपर्छ ।
-शिक्षक र विद्यार्थीका लागि आवश्यक शैक्षिक, भौतिक, मानवीय तथा आर्थिक पक्षहरुको व्यवस्थापन गरिनुपर्छ।
-सार्वजनिक सुनुवाइ सामजिक परीक्षण सिकाइ उपलब्धि परीक्षण र सामाजिक लेखापरीक्षण व्यवस्थित बनाइ अझ प्रभावकारी बनाउनुपर्छ ।
-शिक्षकलाई प्रेरणा सहयोग हौसल्ला सम्मान पुरस्कार र दण्ड जस्ता कार्यलाई व्यावहारिक रुपमा लागु गर्नुपर्छ ।
२. शिक्षकको भूमिका
शिक्षक शिक्षाको मेरुदण्ड मानिन्छन् । शिक्षकको योग्यता, अनुभव, र सृजनशीलताले शिक्षाको गुणस्तर निर्धारण गर्छ ।
-शिक्षकहरूले शैक्षिक विषयमा दक्षता हासिल गरी विद्यार्थीहरूको आवश्यकता बमोजिम शिक्षण पद्धति अपनाउनुपर्छ ।
-विद्यार्थी केन्द्रित रणनीतिहरु प्रयोग गरी आफु सहजकर्ताको रुपमा रहनुपर्छ ।
-विद्यार्थीहरूको समस्या बुझी उनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकासमा योगदान दिनुपर्छ ।
-तालिम, सेमिनार, गोष्ठी र कार्यशालामा सहभागी भई आफ्नो ज्ञान र सीप अद्यावधिक गर्नुपर्छ ।
-आफुलाई सामयिक परिष्कृत बनाउदै व्यावसायिकता सहितको पेसागत विकास गर्नुपर्छ ।
-पेसाप्रति समर्पणको भावना जागृत गर्दै कर्तव्य र जिम्मेवारी प्रति समर्पित हुनुपर्छ ।
-विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रवाह गर्ने नायकका रुपमा आफुलाई विश्वस्त बनाउनुपर्छ ।
-नवीनतम् विधि, प्रविधि र चिन्तनलाई कक्षाकोठामा व्यावहारिक रुपमा प्रयोग गर्नुपर्छ ।
३. विद्यार्थीको भूमिका
विद्यार्थी शिक्षाको मुख्य केन्द्र हुन् । गुणस्तरीय शिक्षा पाउनका लागि उनीहरूको असल आचरण सहितको सक्रिय सहभागिता अत्यावश्यक छ ।
-उनीहरूले नियमित रूपमा विद्यालयमा आउनुपर्छ।
-सिकाइका लागि आवश्यक शैक्षिक सिकाइ सामग्री सहितको विद्यार्थीका रुपमा रहनुपर्छ ।
-शारीरिक तथा मानसिक रुपले योग्य हुनुपर्छ ।
-सिकाइका लागि सक्रिय र उत्सुक हुनुपर्छ ।
-विद्यालयका आचारसंहिता पूर्णरुपमा पालना गर्नुपर्छ ।
-सिकाइ सन्दर्भ सामग्री प्रति खोजमूलक हुनुपर्छ ।
-शिक्षक र साथीहरूसँग सहकार्य गर्दै जिज्ञासु बन्नुपर्छ।
-पाठ्यक्रममा मात्र सीमित नभई सिर्जनशील र व्यावहारिक ज्ञान प्राप्त गर्न पहल गर्नुपर्छ ।
४. अभिभावकको भूमिका
अभिभावक बच्चाको पहिलो शिक्षक हुन् । बालबालिकाको शिक्षामा अभिभावकहरूको सकारात्मक दृष्टिकोणले महत्वपूर्ण प्रभाव पार्छ ।
-बालबालिकाको मानव विकासात्मक अवस्थामा देखा पर्ने शारीरिक, मानसिक र नैतिक विकासका समस्या समयमै पहिचान गरी समाधान गर्नुपर्छ ।
-घरमै अध्ययन र सिर्जनात्मक गतिविधिको वातावरण निर्माण गर्नुपर्छ।
-बालबालिकाको अतिरिक्त क्षमता पहिचान गरी त्यसलाई विकसित गर्न प्रेरित गर्नुपर्छ।
-विद्यालयसँग नियमित सम्पर्क राख्दै शिक्षण र सिकाइ प्रक्रियामा सक्रिय सहभागिता जनाउनुपर्छ।
-आफ्ना छोराछोरीलाई शिक्षा प्राप्तिमा उत्प्रेरित गर्दै उनीहरूको रुचि र क्षमतामा आधारित प्रोत्साहन दिनुपर्छ।
-विद्यालयमा हुने विविध क्रियाकलापमा अर्थपूर्ण सहभागिता जनाउदै अपन्वतबोधको भावना अभिवृद्धि गर्नुपर्छ ।
-सिकाइका लागि पर्याप्त सिकाइ सामग्रीको प्रबन्ध गर्नुपर्छ ।
५. समुदाय र संस्थाको भूमिका
-समुदाय शिक्षाको संरक्षक हो ।शिक्षा समाजको उप पद्धित हो त्यसैले समाजले शिक्षालाई सुधार गर्न सर्वप्रथम आफुलाई समयानुकुल परिष्कृत गर्न आवश्यक देखिन्छ ।
-विद्यालयको शैक्षिक र भौतिक आवश्यकता पूर्ति गर्न मानवीय, आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्नुपर्छ ।
-समुदायका सरोकारवालाहरूले विद्यालयको अनुगमन गर्दै सुधारात्मक सुझाव दिनुपर्छ।
-विभिन्न गैरसरकारी संस्था, संघसंस्थाहरूले शिक्षाका लागि स्रोत र तालिमको व्यवस्था गर्न सक्दछन् ।
-अभिभावक, शिक्षक र विद्यार्थीबीच सहकार्य स्थापित गर्न समुदायले सहजीकरण गर्नुपर्छ ।
-विद्यालयका हरेक असल क्रियाकलापमा साथ सहयोग तथा हौसल्ला प्रदान गर्नुपर्छ ।
६. सरकार र नीतिनिर्माताको भूमिका
-राज्यले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न विषयगत दरबन्दी कायम गरी शिक्षक विद्यार्थी अनुपात वैज्ञानिक ढङ्गले पुनः वितरण गर्नुपर्छ ।
-गुणस्तरीय शिक्षा प्रदान गर्न राज्यले देशको शिक्षा प्रणालीलाई सामयिक बनाउनुपर्छ ।
-सकरात्मक शिक्षक भर्ना प्रणालीबाट Talent Hunt लाई शिक्षण पेसामा प्रवेश गराउन आवश्यक नीति बनाउनुपर्छ ।
-शिक्षण पेसालाई आकर्षणका रुपमा विकास गर्न कार्यसम्पादनमा Hire and fire को सिद्धान्तलाई निष्पक्षरुपमा कार्यान्वयन गर्नुपर्छ ।
-गुणस्तरीय शिक्षाका लागि मध्यकालीन योजना बनाउन र कार्यान्वयन गर्न स्थानीय सरकारले नेतृत्व लिनुपर्छ । सोका लागि दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्छ ।
-प्रदेश सरकारले शिक्षकको योग्यता, दक्षता तथा व्यावसायिकतालाई बढोत्तरी गर्न आवश्यक पेसागत कार्यक्रमलाई परिमार्जन गर्नुपर्छ ।
-प्रदेश सरकारले शिक्षामा सुधार गर्न संघ र स्थानीय तहको शैक्षिक सेतुका रुपमा भूमिका खेल्नुपर्छ ।
सामयिक शिक्षा ऐन, नियमावलीलाई तुरुन्त निर्माण गरी संविधान प्रदत्त बालबालिकाका मौलिक हक कार्यान्वयनको सुनिश्चित गर्नुपर्छ ।
-शिक्षण पेसामा मौद्रिक प्रोत्साहनमा जोड दिइ PBPS लागु गर्नुपर्छ ।
-नीति ऐन नियम र कानुनहरुलाई संविधान र संघीयता अनुकुल हुनेगरी निर्माण गर्नुपर्छ । कार्यान्वयन नीतिहरुको प्रभावकारिताको समय समयमा समीक्षा गर्नुपर्छ ।
-पाठ्यक्रमलाई समयसापेक्ष बनाउन, शिक्षकहरूको दक्षतालाई सुधार गर्न आवश्यक शैक्षिक बजेटको व्यवस्था गर्नुपर्छ।
-शिक्षा प्रणालीमा नवीनतम प्रविधि समावेश गर्दै डिजिटल शिक्षामा जोड दिनुपर्छ।
-शिक्षा प्रणालीमा AI को प्रयोगलाई बढोत्तरी गर्नुपर्छ ।
-विद्यालयहरूको अनुगमन, स्रोत साधनको वितरण र शिक्षक व्यवस्थापनको जिम्मेवारीको अधिकार विकेन्द्रिकरण व्यावहारिक रुपमै गर्नुपर्छ ।
-आधारभूत र माध्यमिक शिक्षामा सबैको समतामूलक पहुँच सुनिश्चित गर्न आवश्यक बजेटको सुनिश्चितता गरिनुपर्छ ।
७. सञ्चारमाध्यमको भूमिका
सञ्चारमाध्यमले शिक्षाको महत्त्व, समस्या, र सुधारका उपायहरू समाजमा जनचेतना फैलाउन मद्दत गर्न सक्छ ।
-यसले शिक्षामा भएका सकारात्मक पहललाई प्रचारप्रसार गरी अन्य स्थानमा लागू गर्न प्रेरित गर्नुपर्छ ।
-शिक्षाका समस्याहरू उजागर गरी नीति निर्माणमा दबाब सिर्जना गर्न पनि प्रभावकारी भूमिका खेल्नुपर्छ ।
-अभिभावकको शिक्षा प्रति सक्रिय सहभागिता र जनचेतना जोगाउन आवश्यक शैक्षिक अन्तरक्रिया, छलफल, बहस र शैक्षिक रेडियो कार्यक्रम गरी सहयोग गर्नुपर्छ ।
-शैक्षिक विकृतिलाई हटाउन संचारका माध्यमबाट राज्यलाई दवाव दिनुपर्छ ।
-शिक्षक तथा विद्यार्थीका प्रतिभालाई राष्ट्रियकरण गरी सहयोग गर्नुपर्छ ।
-शिक्षालाई सुधार गर्ने विभिन्न विचारलाई लेख रचना मार्फत प्रकाशन गर्नुपर्छ ।
८. प्रधानाध्यापकको भूमिका
प्रधानाध्यापक विद्यालयको नेतृत्वकर्ता र असल अभिभावक हुन् । जसमा संस्था प्रति सकरात्मक सोच, दृढ इच्छा शक्ति, आत्माविश्वास र व्यावसायिकता सहितको लगनशिलता हुन निकै जरुरी हुन्छ ।
नेतृत्व प्रदान गर्ने:
विद्यालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न र दीर्घकालीन शिक्षा सुधारको योजना बनाउन प्रधानाध्यापकको नेतृत्व महत्वपूर्ण हुन्छ ।
शैक्षिक गुणस्तर सुनिश्चित गर्ने:
पाठ्यक्रम, पठनपाठन विधि, र मूल्याङ्कन प्रणालीलाई नियमित अनुगमन गरी शैक्षिक गुणस्तर कायम राख्ने।
शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने:
शिक्षकलाई तालिम, कार्यशाला र पेशागत विकासका अवसरहरू उपलब्ध गराई उनीहरूको क्षमता विकास गर्ने।
शिक्षण सिकाइ प्रक्रियाको व्यवस्थापन गर्ने:
शिक्षण विधिहरूमा नवीनतम प्रविधि र साधनहरूलाई समावेश गरी शिक्षण प्रभावकारी बनाउने ।
शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय गर्ने:
विद्यालयको गतिविधिमा अभिभावक र समुदायको सहभागीता सुनिश्चित गर्न समन्वयकारी भूमिका खेल्ने ।
शैक्षिक वातावरणको सिर्जना गर्ने:
विद्यालयमा सकारात्मक, सुरक्षित र प्रेरणादायी वातावरण निर्माण गर्न ध्यान दिनु पर्ने ।
श्रोत व्यवस्थापन गर्ने:
विद्यालयका भौतिक र मानव संसाधनको उचित व्यवस्थापन गरी दीर्घकालीन सुधारको लागि योजना बनाउने ।
विद्यार्थीहरूको सिकाइ उपलब्धिमा ध्यान दिने:
विद्यार्थीहरूको प्रगति नियमित रूपमा मूल्याङ्कन गरी उनीहरूको कमजोर पक्ष सुधार गर्ने उपायहरू अपनाउने ।
नवप्रवर्तन र प्रविधिको प्रयोग गर्ने:
शिक्षामा देखिएका नयाँ नयाँ प्रविधिको प्रयोग गरी शिक्षण विधिहरूलाई अझ प्रभावकारी तथा परिष्कृत बनाउने प्रयास गर्ने ।
नीति र नियमहरूको कार्यान्वयन सुनिश्चित गर्ने:
सरकार तथा स्थानीय निकायका शिक्षा सम्बन्धी नीति तथा नियमहरूको प्रभावकारी कार्यान्वयन गर्ने गराउने ।
निष्कर्ष
गुणस्तरीय शिक्षाको सुधार कुनै एक पक्षको प्रयासले मात्र सम्भव छैन । सबै सरोकारवालाहरूले आ–आफ्ना जिम्मेवारी पूरा गर्दै सामूहिक रूपमा सहकार्य गर्दा मात्र शिक्षामा सुधार सम्भव छ । विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक, सरकार र समुदायबीचको सहकार्यले मात्र दीगो विकास र समृद्ध समाजको परिकल्पना गर्न सकिन्छ ।
(डोटी जिल्ला शिखर न.पा ११ का रावल अहिले ढोरपाटन नगरपालिकाका शिक्षा शाखाका प्रमुख हुुन्)