लेनदेन झगडामा भारतीय गुण्डा काठमाडौं छिरेर अपहरण, इन्स्पेक्टर ललिता ढकालले मध्यराति गरिन् खतरनाक अप्रेशन
काठमाडौं । राजधानी काठमाडौंको सुरक्षा थ्रेट झनै बढेको छ । हिजो साँझको एक घटनाले राजधानी काठमाडौंमा कुनै पनि बेला भारतीय गुण्डाहरु छिरेर जुनसुकै घटना गराउन सक्ने देखिएको छ ।
हिजो साँझ राजधानी काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेलमा रहेका एक चिनियाँ नागरिकलाई भारतबाट आएका चार जनाको समुहले अपहरण गरे । भारतीय नम्वर प्लेटकै गाडीमा राखेर उनीहरुले लिएर देशको राजधानी काठमाडौंबाट सकुशल फुत्किए । काठमाडौंबाट चिनियाँ नागरिक अपहरण गरेर भागेको टोली फर्पिङको बाटो हुँदै भारततर्फ गइरहेका थिए । त्यसको लागि उनीहरुले विभिन्न नाकाहरु हुँदै मकवानपुरको भिमफेदीसम्म पुगिसकेका थिए । त्यहाँबाट उम्किएको भए लगभग भेट्न असम्भव जस्तै थियो ।
नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले हिजो रातभर लगाएर अपहृत चिनियाँ नागरिकको सकुशल उद्धार गरी घटनामा संलग्न चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिन सफल भएको छ ।
लगत्तै प्रहरीले चिनियाँ नागरिक अपहरणमा परेको सूचना पायो । तर, खोजी गर्दा ढिलाई भइसकेको थियो । तत्कालै चारै नाकामा हाई एलर्ट गराइयो । काठमाडौंबाट चिनियाँ नागरिकलाई अपहरण गरेर लैजादै गरेको गाडी भिमफेदि पुग्नै लागेको थियो । उपत्यका अपराध अनुसन्धान शाखाको टोलीले मकवानपुरको भिमफेदीकी इन्स्पेक्टर ललिता ढकालसँग निरञ्तर सम्पर्कमा थियो ।
प्रहरीले भारतीय नागरिकको हुलियासहितको विवरण दिई तत्काल नियन्त्रणमा लिन भनिएकोले भिमफेदीले सतर्कता अपनायो । प्रहरी इन्स्पेक्टर ललिता ढकाल आफै भिमफेदीमा उक्त गाडी नियन्त्रणमा लिन खटिईन । अपहरणकारीहरुलाई लिएर आएको गाडी भिमफेदी पुल तरेर अघि बढ्न सकेन । प्रहरी सक्रिय भएको सूचना पाएपछि उनीहरु रोकिएका थिए । राति करिब आठ बजिसकेको थियो । अपहरणकर्ताहरुले प्रहरीलाई देखेपछि गाडी पुनः काठमाडौंतर्फ फर्काएर बेपत्ता भागे ।
इन्स्पेक्टर ढकालले अप्रेशन सुरु गरिन् । प्रहरीको गाडी पछि पछि थियो । अपहरणकारी लगातार भागिरहेका थिए । भिमफेदीभन्दा करिब चार किमी माथि जुरीखेत पुगेपछि उनीहरु गाडी रोकेर भागे । सोही क्रममा चिनियाँ नागरिक अपहरणकारीको पञ्जाबाट फुत्किएर काठमाडौंतर्फ भागे भने भारतीयहरु जंगलतर्फ भागे । फाखेल र काठमाडौैंको टोली तत्कालै सक्रिय भयो । इन्स्पेक्टर ढकालको टोली जुरीखेतमाथिको जंगलमा खोजेर चार जना भारतीयलाई नियन्त्रणमा लिन सफल भयो । उता, अपहरणमा परेका चिनियाँ नागरिक भाग्दै काठमाडौंतर्फ आइरहेका थिए । उनलाई पनि प्रहरीले उद्धार गरेर काठमाडौं ल्याएको छ ।
सो घटनाको सम्बन्धमा विस्तृत विवरण प्रहरीले पत्रकार सम्मेलन गरेर मात्रै सार्वजनिक गर्ने भएको छ ।