टाट पल्टिने अवस्थामा शिवश्री हाइड्रोपावरः वित्तीय सूचक दर्दनाक, लगानी उच्च जोखिममा
काठमाडौँ । शिव श्री हाइड्रोपावर लिमिटेडको ऋण जोखिम यथावत रहेको छ । इन्फोमेटिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेटिक्स नेपाल) ले कम्पनीको आइआरएन बी– सिंगल बी माइनस (इश्युअर) रेटिङलाई पुनः स्थिर राखेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व समयमा पूरा गर्न असफल हुने उच्च जोखिम रहेको संकेत गर्छ ।
इन्फोमेटिक्स नेपालले कम्पनीका दीर्घकालीन बैंक सुविधाहरूका लागि एनपीआर ३ अर्ब ७८ करोड १५ लाख ६० हजार बराबरको आइआरएन बी– रेटिङलाई पनि यथावत राखेको छ । साथै, छोटो अवधिका बैंक सुविधाहरूका लागि एनपीआर ५५ करोड ५३ लाख बराबरको आइआरएन ए४ रेटिङलाई पुनः स्थिर राखिएको छ ।
यसपटक कम्पनीका दीर्घकालीन बैंक सुविधाहरूको कुल रकम अघिल्लो पटकको एनपीआर ३ अर्ब ८८ करोड ४५ लाख २० हजारबाट घटाइएको छ भने छोटो अवधिका सुविधाहरूको कुल रकम अघिल्लो एनपीआर १० करोडबाट वृद्धि गरी एनपीआर ५५ करोड ५३ लाख पु¥याइएको छ । इन्फोमेटिक्स नेपालका अनुसार कम्पनीको वित्तीय जोखिम उच्च रहेको छ, जसले गर्दा लगानीकर्ताहरूले जोखिममाथि विचार गर्नुपर्ने देखिन्छ। यस प्रकारको रेटिङले कम्पनीको वित्तीय दायित्व व्यवस्थापनमा चुनौती रहेको संकेत गर्छ ।
हाइड्रोपावरको वित्तीय अवस्था कमजोर र सञ्चालनमा गम्भीर चुनौती रहेको छ । कम्पनीले २२.२० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित निर्माण गरेको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजना हालसम्म अपेक्षित उत्पादन हासिल गर्न असफल देखिएको छ । प्लान्ट लोड फ्याक्टर अपेक्षितभन्दा निकै कम हुँदा कम्पनीले विद्युत आपूर्ति अभावको कारण ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ । चालु आर्थिक वर्ष २०८१ मा कम्पनीको पीएलएफ ६३ प्रतिशत मा झरेको छ, जुन अघिल्लो वर्षको ६८ प्रतिशत भन्दा पनि कम हो । यो गिरावट मेसिनरीमा आएको समस्या तथा अन्य भौतिक अवरोधका कारण भएको बताइएको छ ।
शिव श्रीको वित्तीय अवस्था झन् कमजोर बन्दै गएको देखिन्छ । कम्पनीको कुल ऋण–इक्विटी अनुपात २०८१ मा २१.५९ गुणा पुगेको छ, जुन अघिल्लो वर्षको ७.३४ गुणा भन्दा झन्डै तीन गुणा बढी हो । ऋणभार अत्यधिक हुँदा कम्पनीको ब्याज भुक्तानी क्षमता पनि कमजोर रहेको छ । चालु वर्षको पहिलो त्रैमासमा कम्पनीको ब्याज भुक्तानी क्षमता १.३९ गुणा मात्र रहेको छ । कम्पनीको व्यापार पनि सन् २०२३ को तुलनामा सन् २०२४ मा घटेर ३१ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ ।
नेपाली विद्युत प्राधिकरणसँग ३० वर्षको पावर पर्चेज एग्रिमेन्ट (पीपीए) गरेको भए पनि कम्पनीले सधैं न्यूनतम ८० प्रतिशत ऊर्जा आपूर्ति गर्न नसकेमा जरिवाना तिर्नुपर्ने अवस्था रहेको छ । यसले गर्दा कम्पनीलाई थप वित्तीय दबाब परेको छ । विद्युत आपूर्ति व्यवस्थामा सुधार गर्न तथा सञ्चालन र सम्झौतामा रहेको पीएलएफबीचको अन्तर कम गर्न कम्पनीले प्रभावकारी उपाय अपनाउन आवश्यक देखिन्छ । यस्तै, कम्पनीले प्रस्तावित हकप्रद सेयरबाट संकलन हुने रकम ऋण भुक्तानीमा लगाउने योजना कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।
शिव श्री हाइड्रोपावर लिमिटेड २०६२ साल चैत १८ मा स्थापना भई २०७३ साल मंसिर २७ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो। कम्पनीले २०७७ साल कात्तिक ६ मा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आफ्नो सेयर सूचीकृत गरेको छ। सिन्धुपाल्चोक जिल्लामा अवस्थित २२.२० मेगावाट क्षमताको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाको निर्माण, सञ्चालन र स्वामित्व ग्रहण गर्न कम्पनी स्थापना गरिएको हो। यो आयोजना ४१.४० वर्गकिमि जलाधार क्षेत्र र ८१५.५० मिटरको कुल हेडसहित वार्षिक ४.६३ घनमिटर प्रति सेकेन्ड डिस्चार्जको आधारमा निर्माण गरिएको छ।
२०८१ मंसिर ७ सम्ममा कम्पनीका प्रमुख शेयरधनीहरूमा यति ट्रेड एन्ड डेभलपर्स प्रालि (१५.५९%), विष्णु बहादुर खत्री (४.५३%) र बच्चु पौडेल (४.३६%) रहेका छन्। आयोजना सञ्चालनमा ल्याइएका सन्दर्भमा कम्पनीले उत्पादन गरिएको सम्पूर्ण विद्युत बिक्री गर्ने लक्ष्यसहित नेपाली विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ।
कम्पनीको अध्यक्षमा मञ्जु कुमारी श्रेष्ठ र निर्देशकमा राजन सुवाल रहेका छन् ।