भाटभटेनीमा गुणस्तरहीन सामान बिक्री, १० हजार जरिवाना
काठमाडौँ । भाटभटेनी सुपरमार्केटले गुणस्तरहीन सामान बिक्री गरी उपभोक्ताको स्वास्थ्य र अधिकारमाथि खेलबाड गरेको पाइएको छ। ललितपुरको संयुक्त जिल्ला बजार अनुगमन समितिले चापागाउँदोबाटोस्थित भाटभटेनीमा सोमबार अनुगमन गरी यस्तो तथ्य बाहिर ल्याएको हो।
अनुगमनका क्रममा म्याद नलेखिएको इम्लीको अचार भेटिएपछि समितिले उक्त अचारका प्याकेजमध्ये एउटा परीक्षणका लागि पठाएर बाँकी जफत गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ अनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको ठहर गर्दै भाटभटेनीलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ। समितिका अनुसार यो कारबाही सचेतनाका लागि मात्र भए पनि भाटभटेनीको व्यवसायिक आचरणप्रति गम्भीर प्रश्न खडा भएको छ।
संयुक्त अनुगमन समितिले चापागाउँदोबाटो क्षेत्रमा अन्य व्यवसायहरूमा समेत अनुगमन गरेको छ। मकवानपुर फास्टफुडले स्थानीय तहमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको भेटिएको छ भने ए टु जेड स्टोरले मूल्यसूची नराखेको कारण सचेत गराइएको छ। अनुगमन टोलीका सदस्यहरूले गुणस्तर र पारदर्शितामा ध्यान दिन व्यवसायीहरूलाई बारम्बार आग्रह गर्दै आएका छन्।
भाटभटेनीजस्तो ठूला सुपरमार्केटहरूबाटै गुणस्तरहीन र म्यादबिना सामान बिक्री हुँदा उपभोक्ताको विश्वास डग्मगाएको छ। यसअघि पनि भाटभटेनीले यस्ता लापरबाही गरेर कारबाहीको सामना गरिसकेको छ। तर बारम्बारको यस्ता घटना रोकथाम गर्न प्रस्ट योजना नहुँदा उपभोक्ता जोखिममा पर्ने अवस्था दोहोरिँदै गएको छ।