नाफामा मुक्तिनाथलाई पछ्याउँदै गरिमा: ग्रोथमा आक्रामक शाइन र कामना, दर्दनाक अवस्थामा ज्योति
काठमाडौँ । नाफामा नम्बर वानको आफ्नो वर्चश्व मुक्तिनाथ विकास बैंकको कायम गरेको छ । मुक्तिनाथ उच्च नाफा कमाउने विकास बैंकको सूचीमा पहिलो नम्बरमा रहेको हो । चालु आर्थिक वर्षको पाँच महिनामा बैंकले २८.२० प्रतिशत नाफा वृद्धि गर्दै ५८ करोड ८८ लाख ७० हजार रुपैयाँ पुराएको छ ।
नेपाल राष्ट्रले उपलब्ध गराएको चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म आइपुग्दा राष्ट्रिय स्तरका विकास बैंकहरुले २ अर्ब ७८ करोड ८४ लाख ६० हजार रुपैयाँ नाफा कमाएका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने २८.९५ प्रतिशत बढी हो । गत आवको मंसिर मसान्तसम्ममा विकास बैंकहरुले २ अर्ब १६ करोड २३ लाख ६० हजार रुपैयाँ मात्रै नाफा कमाएका थिए ।
समिक्षा अवधिमा नाफामा गरिमा विकास बैंक मुक्तिनाथलाई पछ्याइरहेको छ । गरिमाको नाफा ३३.२४ प्रतिशतले बढेर ५१ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
नाफा वृद्धिदरमा भने कामना सेवा विकास बैंक आक्रामक देखिएको छ । यसअवधिसम्ममा कामनाको नाफा ६८.२६ प्रतिशत वृद्धि भई ३३ करोड १० लाख रुपैयाँ पुगेको छ । साथै, चालु आवको पाँच महिनामा लुम्बिनी विकासको नाफा ५८.३० प्रतिशतले बढेर पाँच महिनामा लुम्बिनीले ३८ करोड ६८ लाख रुपैयाँ र शाइन रेसुङ्गाको ५७.३७ प्रतिशतले बढेर ४७ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।
यता, सांग्रिला डेभलपमेन्ट बैंकको नाफा पनि ३३.०५ प्रतिशत वृद्धि भई २० करोड ७० लाख रुपैयाँ र महालक्ष्मीको १.९३ प्रतिशतले घटेर २१ करोड २९ लाख रुपैयाँ कायम भएको छ ।
ज्योति विकास बैंकको नाफामा भने भारि गिरावट देखिएको छ । कम्पनीको अधिकांश सूचक धरापमा परि रहेको छ । कम्पनीको राष्ट्र बैंकका अनुसार ज्योति विकासको नाफा ६४.७८ प्रतिशत घटेर ७ करोड ४ लाख रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा भने बैंकले १९ करोड ९९ लाख बढी नाफा आर्जन गरेको थियो । कम्पनीको खराब कर्जा बढ्दै जाँदा नाफा निरन्तर घट्दो क्रममा रहेको छ ।
क्षेत्रियस्तरका विकास बैंकको अवस्था कस्तो ?
क्षेत्रियस्तरका विकास बैंक अहिले चुलिँदो खराब कर्जाको सामना गर्दै छन् । कम्पनीको खराब कर्जा निकै उच्च भइरहेको छ । जसले गर्दा नाफा समेत निरन्तर प्रभावित हुँदै आइरहेको हो । कर्णाली डेभलपमेन्ट बैंकलाई अहिले राष्ट्र बैंकले आफ्नो निरन्तरमा लिएको छ । हाल बैंकको नाफा ५ करोड १८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनी प्रतिशेयर आम्दानी समेत १० रुपैयाँ नोक्सानमा रहेको छ ।
हाल तीन क्षेत्रियस्तरका विकास बैंक मात्र नाफामा देखिएका छन् । सिन्धु विकासको नाफा ३ करोड ६१ लाख रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकको ९१ लाख र ग्रिन डेभलपमेन्टको २३ लाख रुपैयाँ रहेको छ । कम्पनीहरु नाफामा रहे पनि गत वर्षको तुलनामा नाफा उच्च अकंले घटेको हो ।
यता, एक्सेल डेभलपमेन्ट बैंक १९ करोड २१ लाख, सप्तकोशी ७ करोड १५ लाख, नारायणी १ करोड १० लाख र सालपा ५९ लाख रुपैयाँ ऋणात्मक छन् ।