चालु आर्थिक वर्षको ६ महीनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन

१ माघ २०८१, मंगलवार ०९:३३

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महीनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३ अर्ब बढी हो। अर्थात् समीक्षा अवधिमा राजस्व संकलन १३ प्रतिशतले वृद्धि भएको छ।

गत वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य छ। पुस मसान्तसम्म ५ खर्ब ६७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ, जुन कुल वार्षिक लक्ष्यको ४० प्रतिशत हो।

चालु आर्थिक वर्षका लागि ६ महीनामा ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। हालसम्म संकलित राजस्व लक्ष्यको ८४ प्रतिशत मात्र पुगेको छ। पुस महीनामा मात्र १ खर्ब ६० अर्ब राजस्व संकलन गरिएको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा भएको वृद्धिलाई सकारात्मक बताउँदै लक्ष्यअनुसार राजस्व संकलनमा ध्यान केन्द्रित गर्ने बताएका छन्।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार असोजमा आएको बाढीपहिरो, पेट्रोलियम पदार्थको आयातमा कमी, विद्युतीय सवारी साधनको आयातमा वृद्धि, दुरसञ्चार क्षेत्रमा परेको प्रभाव, आयात र मागमा कमीले राजस्व संकलनमा असर पारे पनि पहिलो ६ महिनामा उल्लेखनीय प्रगति भएको बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*