सहकारीेले कारोबार आकार अनुसार पुँजीकोषको व्यवस्था गर्नुपर्ने
काठमाडौं। नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको कारोबार आकार अनुसार पुँजीकोषको व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।
केन्द्रीय बैंकले वार्षिक २५ करोड रुपैयाँ बराबरको बचत तथा ऋण परिचालन गर्नेलाई ४ र सो भन्दा ठूला संस्थालाई ८ प्रतिशत पुँजीकोष तोक्नु पर्ने प्रस्ताव अघि बढाएको छ।
केन्द्रीय बैंकले बचत तथा ऋण सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्डको मस्यौदा तयार गरी पुँजीकोष सम्बन्धी व्यवस्था गरिनु पर्ने प्रस्ताव गरेको हो । केन्द्रीय बैंकले तयार गरेको निर्देशन तथा मापदण्डको मस्यौदा अनुसार संस्थाले कुल जोखिम भारित सम्पत्तिको न्यूनतम ४ प्रतिशत प्राथमिक पुँजी अनुपात कायम गर्नु पर्छ । प्राथमिक पुँजी गणना गर्दा शेयर पुँजी, साधारण जगेडा कोष, घाटा पूर्ति कोष र सञ्चित नाफा र नोक्सानी शीर्षकमा रहेको रकमलाई समावेश गर्न पाइनेछ ।
ठूलो कारोबार गर्ने संस्थाले न्यूनतम प्राथमिक पुँजी अनुपातको अतिरिक्त पूरक पुँजी मापन गरी कुल जोखिम भारित सम्पत्तिको न्यूनतम ८ प्रतिशत पुँजी कोष अनुपात कायम गर्नु पर्नेछ ।
संस्थाले यो निर्देशन लागू भएको तीन महिनाभित्र पुँजीकोषको विवरण नियमनकारी निकायमा पेश गर्नुपर्नेछ । संस्थाको प्राथमिक पुँजी अनुपात र पुँजीकोष अनुपात नपुग भएमा २०८३ असार मसान्तसम्म कायम गरिसक्ने गरी कार्ययोजना समेत पेश गर्नुपर्ने व्यवस्था मस्यौदामा छ ।
त्यसैगरी संस्थाले संकलन गर्ने स्रोत सदस्यहरूबाट मात्र बचत संकलन गर्न सक्ने छ । संस्थाले प्राथमिक पुँजी कोषको पन्ध्र गुणासम्म बचत संकलन गर्न सक्नेछ । बैंक तथा वित्तीय संस्थाबाट कुल सम्पत्तिको पाँच प्रतिशतसम्म वा पुँजी कोषको बढीमा सय प्रतिशतसम्म ऋण लिन सक्ने मस्यौदामा उल्लेख छ ।
सहकारी संस्थाको प्रति सदस्य कार्य क्षेत्र एक जिल्ला भए दश लाख एकभन्दा बढी जिल्ला कार्यक्षेत्र भए पच्चीस लाख एक प्रदेशभन्दा बढी कार्यक्षेत्र भएको पचास लाख रुपैयाँ बचत लिन सक्छ । २०८१ पौष १४ अघि कायम रहेको बचतको हकमा सो मितिबाट दुई वर्षभित्र सीमा भित्र ल्याइसक्नुपर्ने छ ।