हेर्दा हेर्दै जल्यो क्यालिफोर्निया, अमेरिका नै बन्यो निरिह

२९ पुष २०८१, सोमबार १८:२५

काठमाडौँ । विश्व महाशक्ति राष्ट्र अमेरिकाको शक्तिशाली छवि अहिले क्यालिफोर्नियाको विभिन्न स्थानमा भएको डरलाग्दो जङ्गलको आगलागीले निरीह देखाएको छ। लस एन्जलस र आसपासका क्षेत्रमा फैलिएको आगोले राज्यभरि विध्वंस मच्चाउँदै लाखौं मानिसलाई घरबारविहीन बनाएको छ। शक्तिशाली हातहतियार र उच्च प्रविधिको गर्व गर्ने अमेरिका आफ्नै भौगोलिक विपत्तिसामु नतमस्तक देखिएको छ।

लस एन्जलसमा सुरू भएको आगलागीको लप्काले अहिले सिंगो क्यालिफोर्नियालाई चपेटामा पारेको छ। राज्यमा आपतकाल घोषणा भए पनि आगो नियन्त्रण बाहिर छ। हलिउडका ठूला घरदेखि लिएर रमणीय प्रशान्त पालीसेड्स क्षेत्र ध्वस्त हुँदा अमेरिकाले आफ्नो सम्पूर्ण साधन र स्रोत परिचालन गरे पनि आगो निभाउन असमर्थ देखिएको छ।

आगोलाई अझ डरलाग्दो बनाउने तत्व भनेकै उच्च हावाहुरी हो। यी हावाहुरीले आगोका लप्कालाई झनै तीव्र बनाएर स्थानीय बासिन्दालाई आतङ्कित पारेका छन्। लस एन्जलस क्षेत्रमा मात्र २४ जनाले ज्यान गुमाएका छन् भने १२,००० भन्दा बढी संरचना जलेर नष्ट भएका छन्। ६० वर्गमाइलभन्दा बढी क्षेत्रमा फैलिएको आगोले लाखौं बासिन्दालाई विस्थापित गरेको छ।

लस एन्जलस काउन्टीमा १ लाख ५० हजारभन्दा बढी मानिसलाई घर छोड्न आदेश दिइएको छ। यसले मानिसहरूलाई सुरक्षित स्थानमा जान बाध्य बनाएको छ भने, आपतकालीन शेल्टरहरूमा ७०० भन्दा बढी शरणार्थीलाई आश्रय दिइएको छ।

यस भयानक आगो नियन्त्रणका लागि क्यालिफोर्नियाका १,३०० भन्दा बढी दमकल गाडी, ८४ विमान, र १४,००० भन्दा बढी कर्मचारी परिचालन भएका छन्। साथै, क्यानडा र मेक्सिकोजस्ता छिमेकी देशका दमकल टोली पनि सहायता प्रदान गर्न जुटेका छन्। यद्यपि, आगो नियन्त्रण बाहिर छ।

सबैभन्दा विनाशकारी पालीसेड्स क्षेत्रको आगोले २३,७१३ एकड जमिन नष्ट गरेको छ। यस क्षेत्रका रमणीय स्थलहरू अहिले भग्नावशेषमा परिणत भएका छन्। प्रशान्त कोस्ट हाइवे क्षेत्र खाली गराइएको छ भने आपतकालीन शेल्टरका रूपमा वेस्टवुड रिक्रियेशन सेन्टर प्रयोग गरिएको छ।

प्रारम्भिक अनुमान अनुसार, यो आगलागीले ४१३५ बिलियनदेखि ४१५० बिलियन अमेरिकी डलरसम्मको आर्थिक क्षति पुर्‍याएको छ। यो केवल आर्थिक संकटको मात्र सवाल होइन, यसले हजारौं मानिसलाई घरबारविहीन बनाएको छ।

यसका साथै, स्थानीय क्षेत्रमा पानीको गुणस्तरमा गिरावट आएको छ। बासिन्दालाई पानी पिउन चेतावनी दिइएको छ, किनभने त्यसमा विषाक्त पदार्थ र परजीवीको जोखिम छ।

यस संकटका बीचमा, स्थानीय र राज्यस्तरीय राहत प्रयासले गति लिएका छन्। सहयोग संस्थाहरूले प्रभावित बासिन्दालाई खाना, पानी, र आवास उपलब्ध गराइरहेका छन्। तर आगलागीको त्रासदीबाट बाँच्न सकेका मानिसहरूको जीवन पुनःनिर्माण गर्न निकै समय लाग्ने देखिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*