राष्ट्रपति रामचन्द्र पौडेलले गरे सिंहदरबारमा निर्माणाधीन संसद भवनको अवलोकन (तस्विरहरु)
काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेका छन् । सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको सोमबार राष्ट्रपति पौडेलले अवलोकन गरेका हुन् । सो क्रममा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालको उपस्थिति थियो ।
राष्ट्रपति पौडेललाई अवलोकनका क्रममा शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले सो भवन निर्माणमा भइरहेको प्रगतिबारे जानकारी गराएका थिए । सो क्रममा पौडेलले भवनसम्बन्धी विभिन्न जिज्ञासा राख्दै सम्बद्ध पक्षलाई यथाशक्य चाँडो सक्न निर्देशन पनि दिए ।
संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लकसहितको भव्य संरचना निर्माण गरिएको छ ।