आज एकैदिन ३९ कम्पनीले गरे वार्षिक साधारणसभा

२९ पुष २०८१, सोमबार १५:५३

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएका २४४ कम्पनीहरुमध्ये हालसम्म १५८ वटा कम्पनीले मात्र वार्षिक साधारण सभा आह्वान गरेका छन् । अझै पनि सूचीकृत कम्पनीहरुमध्ये ८६ कम्पनीहरुले वार्षिक साधारण सभा आह्वान गर्न सकेका छैनन् । हालसम्म केही कम्पनीहरुले भने साधारण सभा सम्पन्न गरेर लाभांश समेत वितरण गरिसकेका छन् ।

सूचीकृत कम्पनीहरुले वार्षिक साधारण सभाको जानकारी सभा हुन भन्दा २१ दिन पहिले दिनुपर्ने व्यवस्था छ । कम्पनीहरुले वार्षिक सभा सुरु गर्न समयमा मतलब नगरेर पुष मसान्तमा हान्थाप गर्ने कारणले गर्दा हाल विभिन्न कम्पनीमा शेयरधनी रहेका लगानीकर्ताहरु मारमा परेका छन् । एक जना मानिस धेरै कम्पनीको शेयरधनी रहेको हुन्छ । कम्पनी सञ्चालक र व्यवस्थापकहरुलाई आफ्नो कुरा राख्ने वर्षमा एकदिन हुन्छ, जुन वार्षिक साधारण मात्र हो । यसमा पनि शेयरधनी बन्चित हुने गरेको उनीहरुको गुनासो रहेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये पुस २६ गते शुक्रबार १४ कम्पनीले साधारण सभा सम्पन्न गरेका छन् । यस्तै, पुस २७ गते शनिबार ४, २८ गते आइतबार २२ तथा २९ गते सोमबार ३९ कम्पनीको साधारण सभा रहेको छ । अझै केही कम्पनीले कानुनी प्रावधान अनुसारको समय बितिसक्दा पनि विभिन्न कारण देखाएर साधारण सभा आह्वान गर्न सकेका छैनन् ।

सूचीकृत बीमा कम्पनीहरुमध्ये सूर्यज्योति लाइफ इन्स्योरेन्सले मात्र गत आर्थिक वर्षको वार्षिक साधारण सभा सम्पन्न गरेको छ । अरु जीवन र निर्जीवन बिमा कम्पनीहरुले हालसम्म गत वर्षको सभा बोलाएका छैनन् ।

आज अर्थात पुष २९ गतेका दिन कृषि विकास बैंक, हिमालयन बैंक लिमिटेड, प्रभु बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंक लगायतका बैंकको वार्षिक साधारण सभा आज रहेको छ ।

यस्तै, हिमालयन पावर पार्टनर, रशुवागढी हाइड्रोपावर, सिगंटी हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड, बुद्धभुमी नेपाल हाइड्रोपावर, दोर्दीखोला जलविद्युत, राप्ती हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर, दोल्ती पावर, भुगोेल इनर्जी डेभलपमेन्ट कम्पनी र मेन्छियाम हाइड्रोपावरको साधारण सभा रहेको छ ।

साथै, आज वार्र्षिक साधारण सभा रहेका अधिकांश कम्पनीहरुमा लाभांश प्रस्ताव रहेको छैन् । शेयरधनीहरुले आफ्नो लगानी रहेका कम्पनीहरुको वार्षिक साधारण सभा एकैसमयमा परेको कारण पनि सञ्चालक र व्यवस्थापनप्रति सामाजिक सञ्जालमा पनि आक्रोश व्यक्त गरिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*