बजारमा राताम्यको निरन्तरताः २५ सयको लाइनमा परिसूचक, मार्केट किन प्रभावित ?
काठमाडौँ । पछिल्लो तीन दिनदेखि शेयर बजारमा गिरावट जारी छ । बजारका लागि आवश्यक सकारात्मक सूचकहरू भए पनि बजारले अपेक्षित गति लिन सकेको छैन । अघिल्लो साता हरियाली देखिएको बजारले यस साता भने राताम्य प्रदर्शन गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्ने हल्ला व्यापक छ, जसले लगानीकर्तामा त्रास उत्पन्न गरेको छ । सत्तारूढ दल नेपाली कांग्रेसका नेताहरूले सरकारको कार्यक्षमतामाथि प्रश्न उठाइरहेका छन्, भने विपक्षी दलहरूबीच पनि भेटघाट बाक्लिएको छ । यस राजनीतिक अस्थिरताले शेयर बजारमा नकारात्मक प्रभाव पारेको छ।
माघ महिनाका लागि बैंकहरूले ब्याजदर घटाएका छन्, तर बजारले त्यसको सकारात्मक प्रभाव अनुभव गर्न सकेको छैन । यसअघि लामो समयदेखि बजार साइडवेजमा रहेकाले, अब विस्तारै सकारात्मक गतितिर लाग्ने अपेक्षा गरिएको थियो । तथापि, बजारको प्रवृत्तिबारे निश्चित भविष्यवाणी गर्न कठिन छ ।
दोस्रो त्रैमासमा कम्पनीहरूको मुनाफा बढेको रिपोर्ट आएमा शेयर बजारमा सकारात्मक प्रभाव पर्न सक्छ । तर, सूचीकृत कम्पनीहरूले मुनाफा बढाएको रिपोर्ट सार्वजनिक गर्न नसकेमा त्यसको असर पनि देखिन सक्छ । शेयर बजार निश्चित समयको चक्रमा चल्ने भएकाले अब बुल रनको पालो हुन सक्ने अनुमान गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५४ अकंले घटेर २५९४ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोड ३८ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६५ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैकिङ समूहको ०.३५ प्रतिशत, विकास बैंक समूहको ०.५८ प्रतिशत, फाइनान्स समूहको १.३२ प्रतिशतले शेयर मूल्य घटेको छ । फाइनान्सको शेयर मूल्य ह्वातै बढ्ने र घट्ने हुन्छ । फाइनान्समा आज लगानीकर्ता डुबेका छन् ।
आज ६३ कम्पनीको शेयर मूल्य बढ्दा १७५ कम्पनीको घटेको छ ।