नाफामा नबिलकै अग्रताः ग्लोबललाई पछ्याउँदै नेपाल इन्भेष्टमेन्ट, ग्रोथमा एसबिआई र लक्ष्मी सनराइज
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ मंसिर मसान्तसम्ममा वाणिज्य बैंकले साढे ३० अर्ब रुपैयाँ नाफा कमाएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका बैंकहरुले चालु आवको पाँच महिनामा ३० अर्ब ५९ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गर्ने सफल भएका हुन् ।
बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा ७.८४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको मंसिर मसान्तसम्ममा बैंकहरुले २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका थिए । अर्थतन्त्रमा देखिएको मन्दिले प्रभावित नेपालको बैंकिङ्क क्षेत्रले विस्तारै लय समालि रहेको छ ।
चालु आवको साउनदेखि मंसिससम्ममा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा नबिल बैंकले आफ्ना अग्रता कायमै राखेको छ । यसअवधिमा बैंकले आफ्ना नाफा १७.७८ प्रतिशतले बढाएर ३ अर्ब ४९ करोड ७४ लाख रुपैयाँ पुराएको हो ।
सर्वाधिक नाफा आर्जन गर्ने कम्पनीमा ग्लोबल आइएमई बैंक दोस्रो नम्बरमा रहेको छ । बैंकको नाफा ३.५३ प्रतिशतले बढेर २ अर्ब ८३ करोड ४४ लाख रुपैयाँ रहेको छ।
चालु आवको समिक्षा अवधिसम्ममा सर्वाधिक नाफा वृद्धिमा लक्ष्मी सनराइज र नेपाल एसबिआई बैंक रहेका छन् । बैंकहरुको नाफा क्रमशः ८२.७० प्रतिशतले बढेर १ अर्ब ६४ करोड ७ लाख र ९०.४८ प्रतिशतले बढेर १ अर्ब ३४ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
यता, धेरै नाफा कमाउने कम्पनीको तेस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकको नाफा ४.५२ प्रतिशतले घटेर २ अर्ब ४९ करोडमा आइपुगेको छ ।
यसअवधिमा कुमारी बैंकको नाफा ५३.१५ प्रतिशतले बढेर १ अर्ब ९९ करोड, प्राइम बैंकको २.०७ प्रतिशतले बढेर १ अर्ब ९६ करोड, एभरेष्ट बैंकको ३८ प्रतिशतले बढेर १ अर्ब ९४ करोड, एनएमबि बैंकको ३१ प्रतिशतले बढेर १ अर्ब ९० करोड रुपैयाँ, प्रभु बैंकको २३ प्रतिशतले बढेर १ अर्ब ८३ करोड, नेपाल बैंकको २४.९५ प्रतिशतले बढेर १ अर्ब ५१ करोड, स्टान्डर्ड चार्टड बैंकको ९.४४ प्रतिशतले बढेर १ अर्ब ३७ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ५६.९५ प्रतिशतले बढेर ९७ करोड ९० लाख र माछापुच्छे बैंकको ८.४९ प्रतिशतले बढेर ८२ करोड रुपैयाँ पुगेको छ ।
यता, हिमालयन बैंकको नाफा भने २५.९२ प्रतिशतले घटेर १ अर्ब ३३ करोडमा सीमित भएको छ । साथै, सानिमा बैंकको १६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३८.५१ प्रतिशत, सिटिजन्स बैंकको ६.५४ प्रतिशत र एनआईसी एशिया बैंकको ६५.७६ प्रतिशतले नाफा घटेको छ ।