कमलादीको स्काई टावर चलेन, आम्दानीमा संकटपछि आइपीओ निकालेर रकम संकलन गर्ने योजना
काठमाडौँ । घाटा रहेका कम्पनीहरुमा आइपीओ ल्याउने लहर नै चलेको छ । वित्तीय रुपमा कमजोर भएर संकटमा रहेका कम्पनीहरु सर्वसाधारणबाट पैसा उठाउने झोकले वार्षिक साधारण सभाबाट आइपीओ प्रस्ताव पारित गरि रहेका छन् । वित्तीय सूचकमा दर्दनाक अवस्थामा रहेका र भर्खर बजार प्रवेश गरेका कम्पनीहरु आइपीओ निष्कासनका लागि तयारीमा जुटि रहेका हुन् ।
बजारमा आइपीओ जारी गरेर सर्वसाधारण लगानीकर्ताबाट सहजै रकम उठाउन सकिने देखिएसँगै आफ्ना कर्जा भुक्तानी गर्नका लागि भएपनि आइपीओ जारी प्रक्रियामा जुट्न थालेका हुन् । सोहि मध्यको एक कम्पनीको हो काठमाडौंको कमलादीमा स्काईवाक टावर बनाएको वोन्डर्स नेपाल ।
कम्पनीको पछिल्लो व्यापार निरन्तर खस्किदै गएको छ । कम्पनीले व्यवसायिक क्षमताको १५ प्रतिशत मात्र सेवा बिक्री गरेको छ । दैनिक २ हजार भिजिटरलाई चढाउने क्षमता राख्ने टावरमा करिब २ सयले पनि अवलोकन नगर्ने गरेको तथ्यले देखाएको छ । पछिल्लो समय टावर जस्तै अग्लो धरहरा संञ्चालनमा आएसँगै कम्पनीको आम्दानीमा थप गिरावट देखा परिरहेको छ । महन्गो शुल्क र टावरमाथि ३० मिनेटमात्र घुम्न पाउनेभएपछि ग्राहक घट्दै गएका छन् । स्काइवाक टावरका लागि कम्पनीले प्रतिव्यक्ति १ हजार रुपैयाँको टिकट बेच्दै आएको छ । धरहरामा प्रतिब्यक्ति २०० रुपैयाँ मात्र भएपछि स्काईवाकलाई धक्का लागि रहेको छ ।
एसियाकै पहिलो स्काई वाक टावर भनेर दाबी गरिएको टावरले वार्षिक ७ लाख २० हजार र मासिक ६० हजार भिजिरलाई टावरमा चटाउने क्षमता राख्छ । तर कम्पनीले सन् २०२४ मा १ लाख १० हजार भन्दा कम मानिसलाई स्काइ वाक टावर चढाएको छ । यो कम्पनीको कुल सामथ्र्यको करिव १५ प्रतिशत मात्र हो । टावरमा चढ्ने मान्छे निरन्तर घट्दा कम्पनी दिनप्रति दिन संकटतिर धकलि रहेको छ ।
केयर इक्रा नेपालका अनुसार कम्पनी सन् २०२४ सम्मको आर्थिक विवरणले यसको वित्तीय अवस्थालाई स्पष्ट पारेको छ । वन्डर्स नेपालले उक्त अवधिमा सञ्चालन आम्दानीबाट १२ करोड ५० लाख रूपैयाँ मात्रै आम्दानी गरेको छ । सञ्चालन नाफा मार्जिन ७८.०२ प्रतिशत रहेको छ । तर, कम्पनीले आर्थिक व्यवस्थापनमा केही चुनौतीहरूको सामना गरिरहेको छ । कुल ऋण–इक्विटी अनुपात १.६६ र ब्याज भुक्तानी क्षमता १.४७ गुणा रहेको देखिन्छ । साथै, कुल ऋणलाई नगद आम्दानीको आधारमा हेर्दा १९.३० गुणा रहेको छ । उच्च ऋण र वित्तीय जोखिमबीच कम्पनीले कम्पनीमा संकट रहेको प्रष्ट गर्छ ।
टावरको आम्दानीका अन्य स्रोतमा कफिसप, सैलुन, रेष्टुरेन्ट भएपनि चढ्ने मान्छे नै कम आउँदा आम्दानी संकुचन भइरहेको छ । सीमित सञ्चालन खर्चको कारण कम्पनीले ह्रासकट्टी, ब्याज र करअघिको नाफा सन् २०२४ मा ९ करोड ७० लाख रूपैयाँ मात्र भएको छ । सन् २०२४ मा कम्पनीले विभिन्न चुनौतिको सामना गर्दै ४ लाख ७० हजार रूपैयाँको घाटा बेहोरेको हो । कम्पनीले गत वर्ष ६ करोड ६० लाख रूपैयाँ ब्याज खर्च तिरेको समेत केयर इक्रा नेपालको प्रतिवेदनमा भनिएको छ ।
यसका साथै, कम्पनीले कुल ६० करोड रुपैयाँको ऋणका लागि रेटिङ गराएको थियो । रेटिङ एजेन्सीले कम्पनीलाई डबल बी माइनसको रेटिङ दिएको छ । धरहरा सञ्चालन भएपछि थप टाट पल्टिने अवस्थामा कम्पनी आइएपछि आइपीओ मार्फत पैसा उठाउने दाउमा अघि बढेको छ । सो बारे जिज्ञासा राख्न खोज्दा कम्पनीका एमडि विष्णु हरि पाण्डे भने सम्पर्कमा नै आउन चाहेनन् ।
कम्पनीको पुष २६ गते संचालक समिति अध्यक्ष प्रबेन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न ७औं वार्षिक साधारण सभाले कम्पनीलाई पब्लिक लिमिटेडमा परिवर्तन गरि आइपीओ जारी गर्ने प्रक्रियामा जाने निर्णय पारित गरेको छ । सो सभाबाट कम्पनीको अध्यक्ष तेजबहादुर सिंह र प्रबन्ध निर्देशक विष्णुहरि पाण्डे बनेका छन् ।
कम्पनीले साधारण सभाबाट आइपीओ प्रस्ताव पारित गरिसकेको हुँदा धितोपत्र बोर्डको दैलोमा आइपीओ निष्कासनको प्रस्ताव बोकेर जानेछ । व्यापारमा संकुचन आएपछि आइपीओ निष्कासन गर्ने तयारी गरेको कम्पनीलाई नेपाल धितोपत्र बोर्डले के गर्ला यो चासोको विषय बनेको छ । पुँजी बजारलाई थप ब्यवस्थित बनाउने प्रतिवद्दता दिदै आएका सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले घाटामा गइरहेको कम्पनीलाई शेयर अनुमतिको विषयमा के निर्णय गर्लान त्यो हेर्ने बाँकी छ ।