जलश्रोत तथा सिंचाइ विभागका तत्कालीन इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । जलश्रोत तथा सिंचाइ विभागका तत्कालीन इन्जिनियर विष्णु कुमार श्रेष्ठमाथि ४ करोड ८८ लाखभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
श्रेष्ठले २०४६ सालदेखि २०७७ सालसम्मको सरकारी सेवामा रहँदा सिंचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका परियोजनाहरूमा ठेकेदारहरूसँग मिलेमतो गरी ठूलो परिमाणमा कमिसन लिएको अख्तियारले दाबी गरेको छ।
श्रेष्ठले भ्रष्टाचार गरी कमाएको रकमले घर–जग्गा खरिद, कम्पनीमा लगानी, शेयर खरिद, विद्युतीय उपकरण खरिद, बीमा प्रिमियम भुक्तानी लगायत परिवारका सदस्यहरूको नाममा खर्च गरेको देखिएको अख्तियारले जनाएको छ।
सरकारी सेवाका रहेको अवधिमा श्रेष्ठको कुल वैधानिक आय करिब ११ करोड २५ लाख रुपैयाँ मात्रै भएकोमा सोही अवधिमा खर्च र लगानी भने १६ करोड १३ लाख रुपैयाँभन्दा बढी रहेको भन्दै अख्तियारले मुद्दा चलाएको हो।
श्रेष्ठले भ्रष्टाचार गरी कमाएको रकम पत्नी, बाबु–आमा र छोराको नाममा समेत राखेको भन्दै सम्पत्ति जफतको लागि मात्रै उनीहरूलाई समेत प्रतिवादी बनाइएको छ। इन्जिनियर श्रेष्ठलाई भने अख्तियारले भ्रष्टाचार बराबर बिगो र कैद जरिवानाको माग गर्दै मुद्दा दर्ता गरेको छ।