सूर्य बोर्डिङ स्कुलमा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । खादनारीस्थित सूर्य बोर्डिङ स्कुलमा पौष २५ गते बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल बीमा प्राधिकरणले आयोजना गरेको उक्त कार्यक्रममा ७८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा राजेन्द्र महर्जनले विद्यार्थीहरूलाई बीमाको महत्वबारे जानकारी गराउँदै अभिभावकलाई आफ्नो बालबच्चाको बीमा गराउन आग्रह गरे। भवितव्यमा हुन सक्ने जोखिमसँग जुध्न बीमा अनिवार्य रहेको बताउँदै सबैले बीमा गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा विद्यालयका तर्फबाट प्रधानाध्यापक तिर्थराज पन्त उपस्थित थिए। उनले कार्यक्रममा बोल्दै बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम विद्यालयस्तरमै सञ्चालन गर्नु सकारात्मक प्रयास भएको बताउँदै धन्यवाद व्यक्त गरे।
कार्यक्रममा विद्यार्थीहरूले बीमा सम्बन्धी प्रश्न तथा जिज्ञासाहरू समेत राखेका थिए। कार्यक्रममा उठेको सबै प्रश्नको उत्तर दिँदै महर्जनले जीवन बीमा मात्र नभई बालीनाली तथा सम्पत्तिको समेत जोखिम बहन गर्न बीमा गर्नुपर्ने धारणा व्यक्त गरे।