गैरआवासीय नेपालीले अब दश वर्षका लागि भिसा पाउने, कम्पनी खोल्न र लगानीको बाटो खुकुलो बनाईने
काठमाडौं । गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले अब दश वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने भएका छन् ।
सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले दश वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने गरी कानुन संशोधनको तयारी गरेको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गैरआवासी नेपालीहरूलाई लगानी सहजताका लागि आवश्यक कानुन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्बाट पारित भएको अध्यादेश राष्ट्रपति प्रमाणीकरण भएसँगै यस्तो कानुनी व्यवस्था कार्यान्वयनमा जानेछ ।
अध्यादेशमार्फत् सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले नेपालमा कम्पनी खोल्न सक्ने, विदेशी लगानीका रूपमा अनुमति लिनु नपर्ने व्यवस्था पनि गरेको छ ।