लक्ष्मी लघुवित्तको १३औंं वार्षिक साधारणसभा सम्पन्न, सम्पूर्ण प्रस्ताव पारित
काठमाडौं । लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले तेह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा सञ्चालक समितिका अध्यक्ष अपछकुमार यादवले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित भएको छ ।
यसैगरी, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तको वासलात तथा आव २०८०/८१ को नाफा(नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू स्वीकृत भएका छन् ।
त्यस्तै, वित्तीय संस्थाको लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण भएको छ ।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाले अन्य इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई गाभ्नेरगाभिने (मर्जर वा प्राप्ति) गर्ने प्रयोजनको लागि उपयुक्त लघुवित्त संस्था पहिचान गर्ने, संस्थाको चल अचल सम्पत्ती र दायित्व तथा कारोवारको मूल्यांकन गर्न मान्यताप्राप्त मूल्यांकनकर्ता नियुक्त गरी पारिश्रमिक तोक्न तथा सहमतिपत्रमा हस्ताक्षर गर्ने तथा यससम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित भएको छ ।
नेपाल राष्ट्र बैंकबाट मिति २०६८ फाल्गुण २३ गते वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त यस संस्थाले २०६९ जेष्ठ २२ गते नुवाकोटको बट्टारबाट लघुवित्त कारोबार सुरु गरेकोमा हाल आएर देशभर ५६ जिल्लामा ९० वटा शाखा कार्यालयमार्फत १ लाख भन्दा बढी ग्राहक सदस्यहरूलाई प्रत्यक्ष सेवा पुर्याएको छ ।