ज्योति विकास बैंकलाई राष्ट्र बैंकको कडा निर्देशन, वित्तीय कैफियत सुधार्न दबाब
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ज्योति विकास बैंकलाई वार्षिक वित्तीय विवरण प्रकाशनका क्रममा देखिएका कैफियतका विषयमा कडा निर्देशन दिएको छ। वित्तीय संस्था सुपरिवेक्षण विभागद्वारा जारी पत्रमा राष्ट्र बैंकले बैंकलाई कर्जा प्रवाह, सुशासन, अनुपालना र आन्तरिक व्यवस्थापनका कमजोरी सच्याउन आग्रह गर्दै ती कैफियत दोहोरिन नदिन चेतावनी दिएको हो।
राष्ट्र बैंकले आर्थिक वर्ष २०८०।८१ को लेखापरीक्षण प्रतिवेदनको सुपरिवेक्षण गर्दा कर्जा सदुपयोगको सुनिश्चिततामा लापरबाही, अनुगमन प्रणालीमा कमजोरी र निर्देशनको पालना नगरेको उल्लेख गरेको छ। बैंकलाई कर्जा प्रवाहपछिको अनुगमनलाई प्रभावकारी बनाउन र चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ को पालना गर्न निर्देशन दिइएको छ।
त्यस्तै, बैंकलाई अघिल्लो साधारण सभा प्रयोजनका लागि निर्देशन दिइएको भए पनि ‘घ’ वर्गको लघुवित्त संस्थामा गरेको लगानी बिक्री नगरेको भन्दै तत्काल त्यसमा सुधार गर्न भनिएको छ। साथै, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी रोक्न पूर्ण रूपमा निर्देशित व्यवस्था पालन गर्न पनि भनिएको छ।
राष्ट्र बैंकले बैंकको आन्तरिक लेखापरीक्षक, बाह्य लेखापरीक्षक तथा अन्य सुपरिवेक्षण निकायहरूले औंल्याएका कैफियतहरूलाई पुनः नदोहोरिने गरी व्यवस्थापनलाई चुस्त बनाउन निर्देशन दिएको छ। ग्राहक पहिचान, सूचना प्रविधि र संस्थागत सुशासनजस्ता विषयमा सुधार गर्न राष्ट्र बैंकले विशेष ध्यान दिन आग्रह गरेको छ।
बैंकले यस्ता निर्देशनको पालना नगर्दा वित्तीय प्रणालीमा पारदर्शिता र विश्वास घट्ने जोखिम रहेको भन्दै राष्ट्र बैंकले स्पष्ट चेतावनी दिएको छ।