व्यवसायिक सफलता तर्फ लुम्बिनी केवलकार, वर्षदिनमा १३ करोडको व्यापार
काठमाडौँ । नेपालको व्यवसायिक क्षेत्रमा परिचित आईएमई ग्रुपको नेतृत्वमा संचालनमा आएको लुम्बिनी केवलकारले सुरुवातको छोटो अवधिमा नै उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको छ । सन् २०२४ मा मात्र कम्पनीले १३ करोड ३० लाख रुपैयाँको व्यापार गर्न सफल भएको हो ।
सन् २०२३ मेदेखि सञ्चालनमा आएको केवलकारले सुरुवाती सात महिनामै २ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । यस प्रगति दरले कम्पनीको व्यापारिक क्षमतामा बलियो सम्भावना रहेको देखिएको छ । लुम्बिनी केवलकार लिमिटेड २००४ अप्रिलमा स्थापना भएको कम्पनी हो, जसले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा तल्लो स्टेशन र पाल्पा जिल्लामा माथिल्लो स्टेशन जोड्ने केवलकार परियोजना सञ्चालनमा ल्याएको छ । कम्पनीले केबुलकार मे २०२३ मा मात्र संञ्चालनमा ल्याएको हो।
माथिल्लो स्टेशन (पाल्पा) स्थित बसन्तपुरमा धार्मिक तथा पर्यटकीय महत्वका संरचना रहेका छन् । यस क्षेत्रमा कामाख्यादेवी मन्दिर, शिव वाहन नन्दी, र सय वर्ष पुरानो भगवती मन्दिर जस्ता धार्मिक सम्पदाहरू छन् । केवलकारको १० मिनेटको यात्रा पर्यटकलाई यी सबै सांस्कृतिक स्थलहरूको नजिक पु¥याउँछ ।
कम्पनीले केवलकारको तल्लो र माथिल्लो स्टेशनबीच यात्रुहरूलाई सुविधा प्रदान गर्दै पाँचतारे होटल निर्माणको तयारी गरिरहेको छ । होटलको निर्माण कार्य प्रारम्भिक डिजाइन चरणमा रहेको भए पनि यो संरचनाले पर्यटकहरूलाई थप आकर्षित गर्ने विश्वास गरिएको छ। परियोजनामा हाल २५ वटा गोन्डला सञ्चालनमा छन्, जसले दैनिक ठूलो सङ्ख्यामा यात्रुहरूको सेवा प्रदान गर्दछ ।
सन् २०२३ मा केवलकारको सञ्चालन नाफा अनुपात ५२ प्रतिशत थियो, जुन २०२४ मा ४२ प्रतिशतमा झरेको देखिए पनि यो दरलाई सकारात्मक मान्न सकिन्छ । कुल ऋण सम्पत्तिको अनुपात २०२३ मा ०.४ बाट २०२४ मा ०.८ पुगेको छ ।
ब्याज भुक्तानीको जिम्मेवारी २०२२ आर्थिक वर्षदेखि सुरु भए पनि केवलकार सञ्चालन सुरु भएको मे २०२३ सम्म ब्याज लागत लेखा प्रणालीमा पूँजीकृत गरिएको थियो । सन् २०२३ मा ब्याज कवरेज अनुपात ०.२ रहेको थियो भने २०२४ मा यो बढेर ०.७ पुगेको छ । सञ्चालन पूँजी अनुपात २०२३ मा उच्च ८८२ प्रतिशत थियो, जुन २०२४ मा घटेर ११३ प्रतिशतमा झरेको छ ।
कम्पनीले २०२५ को तेस्रो त्रैमासिकदेखि केवलकार खण्डको ऋण भुक्तानी सुरु गर्ने योजना बनाएको छ । केवलकारको सफल सञ्चालन र होटल निर्माणको तयारीसँगै कम्पनीले आफ्नो वित्तीय प्रदर्शनलाई थप मजबुत बनाउन लागेको छ ।
लुम्बिनी केवलकारले लुम्बिनी र पाल्पा जिल्लाका स्थानीय समुदायको आर्थिक उन्नति र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्याएको छ । साथै, धार्मिक तथा सांस्कृतिक सम्पदाहरूमा पर्यटकहरूको पहुँचलाई सहज बनाएर नेपालको पर्यटन क्षेत्रलाई प्रोत्साहन दिएको छ ।
कम्पनीका प्रमुख शेयरधनीहरूमा चन्द्रप्रसाद ढकाल, रमेश शर्मा, र हेमराज ढकाल रहेका छन्। यी उद्योगपतिहरूले व्यक्तिगत रूपमा र अन्य सम्बद्ध संस्थामार्फत कम्पनीमा लगानी गरेका छन्। उनीहरूको नेतृत्वले लुम्बिनी केवलकारलाई नेपालको प्रतिष्ठित व्यावसायिक परियोजनामा परिणत गरेको छ।
लुम्बिनी केवलकार लिमिटेडले धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई व्यावसायिक उद्देश्यसँग समायोजन गर्दै नेपालको पर्यटन र पूर्वाधार विकासमा नयाँ उदाहरण प्रस्तुत गरेको छ। यो परियोजनाले भौगोलिक र सांस्कृतिक विविधता भएको क्षेत्रको आर्थिक समृद्धिमा योगदान दिने मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको पर्यटन प्रवद्र्धन गर्ने सम्भावना बोकेको छ।
आइसीआरए नेपालले लुम्बिनी केबलकार लिमिटेडको लागि आईसीआरए एनपी आयसी रेटिङ बी प्लस इशू रेटिङ र आईसीआरए एनपी एल बी प्लस लामो अवधिको ऋण रेटिङ असाइन गरेको छ। आइसीआरए नेपालले कम्पनीको इशू रेटिङ [ICRANP-IR] B+ दिएको छ, जसको अर्थ यो रेटिङ भएका संस्थाहरूलाई वित्तीय दायित्वहरूको समयमै सेवा गर्न उच्च जोखिम रहेको मानिन्छ। यो रेटिङ भनेको कम्पनीको समग्र क्रेडिटवर्थीनेसको सामान्य धारणा हो र यसले कुनै विशेष ऋण उपकरणलाई लक्षित गर्दैन।
यसका साथै, कम्पनीको लामो अवधिको ऋणको लागि [ICRANP] LB+ रेटिङ पनि असाइन गरिएको छ। यो रेटिङले लुम्बिनी केबलकार लिमिटेडको वित्तीय स्थायित्व र ऋण भुक्तानीको जोखिमलाई जनाउँछ।