यस्तो छ मन्त्रिपरिषद्को बैठकले गरेको ६ वटा निर्णय
काठमाडौं । गत पुस २३ गते मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयहरू सार्वजनिक भएको छ।
सरकारले माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनीलामा आयोजना हुने ‘एसएआई–सीएसओ इन्गेजमेन्ट वर्कसप’ मा सहभागी हुन अर्थ मन्त्रालयका उपमहालेखा परीक्षक वामदेव शर्माको टोलीलाई स्वीकृति दिएको छ।
पुस २६ र २७ गते काठमाडौंमा हुने नेपाल–भारतबीचको आपूर्ति व्यवस्थापनसम्बन्धी बैठकको तयारीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई नेतृत्व दिन स्वीकृति दिएको छ।
त्यस्तै सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू कमल गिरी, गणेश बहादुर ठाडा मगर, कुल बहादुर नेम्वाङ्ग र शम्भु सुवेदीको १ वर्ष पदावधि थप गर्ने निर्णय पनि सोही बैठकले गरेको हो।
जलवायु परिवर्तनसम्बन्धी फागु १२ देखि १५ गतेसम्म इटालीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्रीलाई अनुमति दिने निर्णय गरेको छ।
सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रुपमा काम गर्ने गरी काजमा खटाउने निर्णय गरेको छ।
अन्त्यमा परराष्ट्र सेवा समूहीकरणअन्तर्गत रिक्त सचिव पदमा अमृतबहादुर राईलाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ।