बैंकहरुमा छुट्टै जासुसी इकाई खडा गर्ने राष्ट्र बैंकको निर्णय, बिशिष्ट व्यक्तिको खाताको छुट्टै विवरण

२५ पुष २०८१, बिहीबार १८:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै हरेक बैंकमा छुट्टै जासुुसी इकाई बनाएर उच्च पदस्थ व्यक्तिहरुको खाता निगरानी गर्ने निर्णय गरेको छ । सोही निर्णयको आधारमा जारी निर्देशनमा यस्तो व्यवस्था गरिएको हो । आज जारी निर्देशन बमोजिम सार्वजनिक पद धारण गरेका विशिष्ट व्यक्तिहरुको नियमित निगरानी गर्न भनिएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ निर्देशन जारी गर्दै सम्पत्ति शुद्धिकरण सम्बन्धी कारोबारमा कडाई गर्न भनेको हो । नयाँ व्यवस्था अनुसार अब बैंकहरुले सार्वजनिक पद धारण गरेको व्यक्तिहरुको कारोबारको बिशेष निगरानी पनुपर्नेछ ।

राष्ट्र बैंकले क, ख, ग तथा घ बर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्ने बुँदा नं ११ मा ‘(५) संस्थाले आफ्नो ग्राहक उच्च पदस्थ व्यक्तिका परिवार वा नजिकको सम्बन्ध भएका व्यक्ति भए नभएको यकीन गर्न आफूसँग ग्राहकबाट प्राप्त जानकारी तथा बुँदा नं. (१) बमोजिम बनाइएको संयन्त्र प्रयोग गर्नुपर्नेछ ।’ भनिएको छ । बुँदा नं १ मा गृहमन्त्रालयबाट प्राप्त सूचना बमोजिमको व्यक्ति तथा संगठनहरुको विवरण संकलन गर्न छुट्टै इकाई बनाउनु पर्ने उल्लेख छ । विशिष्ट व्यक्तिहरुको खातामा हुने शंकास्पद कारोबारको रिपोर्ट तीन दिनभित्र बैंकले राष्ट्र बैंकमा बुझाउनुपर्नेछ ।

नेपाल राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम अब बैंकहरुले आफ्ना ग्राहकहरुको छुट्टै संयन्त्र बनाएर अनुसन्धान गर्नुपर्नेछ । नयाँ व्यवस्था अनुसार अब बैंकहरुमा जासुसी संयन्त्र हुनेछ । सो संयन्त्रले गृहमन्त्रालयले दिएको सुचनाको आधारमा अपराधिक र संगठित संस्थाहरुले गरेको आर्थिक कारोबारको विवरण केन्द्रीय बैंकलाई दिनुपर्नेछ ।

केन्द्रीय बैंकले उच्च पदस्थ व्यक्तिहरुको व्यक्तिगत खाता र स्टेटमेन्टहरु १० बर्षसम्म सुरक्षित राख्नुपर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*