दश वर्षमा १५ हजार मेगावाट बिजुली बंगलादेश–भारतमा बेच्ने घोषणा
काठमाडौँ। सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट बिजुली छिमेकी देशहरू भारत र बंगलादेशमा निर्यात गर्ने महत्वकांक्षी योजना अघि सारेको छ। मन्त्रिपरिषदले पुस १६ गते स्वीकृत गरेको ऊर्जा विकास मार्गचित्र, २०८१ अनुसार, सन् २०३५ सम्ममा भारत र बंगलादेशमा विद्युत निर्यातको ठूलो लक्ष्य राखिएको हो।
ऊर्जा मन्त्री दीपक खड्काले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यो योजनाबारे जानकारी दिँदै भने, ‘हम्रा प्राथमिकता आन्तरिक स्रोतहरूको अधिकतम उपयोग गर्दै राज्यको आन्तरिक विद्युत खपत बढाउने, साथै अन्तरदेशीय विद्युत व्यापारको सम्भावना विस्तार गर्ने हो।’ उनले थपे, ‘भारतमा १० हजार मेगावाट र बंगलादेशमा ५ हजार मेगावाट, यस प्रकार जम्मा १५ हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य राखिएको छ।’
यस योजनाको एक अंशका रूपमा, मार्गचित्रले सन् २०३५ सम्ममा नेपालको विद्युत जडित क्षमता २८ हजार ५ सय मेगावाट पुर्याउने लक्ष्य निर्धारण गरेको छ। यसले देशको ऊर्जा क्षेत्रलाई मजबुत बनाउने मात्र होइन, छिमेकी देशहरूको आवश्यकता अनुसार नेपाललाई विद्युत निर्यातमा महत्त्वपूर्ण भूमिका प्रदान गर्ने अपेक्षा गरिएको छ।
उर्जामन्त्री खड्काले भने, ‘यो मार्गचित्रले नेपालको ऊर्जा क्षेत्रको योजनावद्ध र समयक्रमानुसार विकास गर्ने मार्गमा टेवा पुर्याउनेछ। यसले नेपाललाई ऊर्जा आपूर्ति र व्यापारमा अग्रणी बनाउने मौका दिनेछ।’