६ दिनको हरियालीमा ब्रेकः ७ अर्ब ३० करोडको कारोबार, उचाई दिने के छन् आधार ?
काठमाडौँ । निरन्तर ६ दिन शेयर बजारमा आएको हरियालीमा ब्रेक लागेको छ । लगातार सुधार आएको बजारमा आज भने करेक्सन देखिएको हो । पुस मसान्तको सामान्य दबाब र निरन्तर बढी रहेको बजारले आज करेक्सनको बाटो समाएको छ ।
अहिले बजारको मनोविज्ञान निकै महत्त्वपूर्ण छ । शेयर बजार बढ्दै जाँदा लगानीकर्ताको विश्वास र मनोबल उच्च हुन्छ, जुन सेयरको प्रवेशमा सकारात्मक प्रभाव पार्दछ । यसको विपरीत, बजार घट्दा आम लगानीकर्ताहरूको उपस्थिति कम हुने गरेको छ । यदि नेप्से बढ्दै गयो भने कारोबार रकममा पनि वृद्धि हुन सक्छ, जसले बजारलाई बलियो बनाउछ । यस आधारमा, हालको समयको चक्रलाई हेरेर पनि बजार अझै बुल रनमा जाने सम्भावना प्रकट गरिएको छ । बजारको पुर्नवृद्धि र करेक्सनका बावजूद समग्रतः बजार माथिको यात्रा तय गर्न सक्ने अनुमान गरिएको छ ।
पुस महिनासम्म धेरै कम्पनीहरूले साधारण सभा र लाभांश वितरणको प्रक्रिया पूरा गरिसकेका छन्, जसले लगानीकर्तालाई के र कति लाभांश प्राप्त हुने बारेमा स्पष्ट जानकारी दिएको छ । यसले लगानीकर्ताको निर्णयमा सकारात्मक प्रभाव पार्नेछ । पुस मसान्तको दबाब पछि, अब कर्जाको ब्याज र साँवाका भुक्तानीको दबाब घट्दै जानेछ, जसले सेयर बजारमा सेलिङ प्रेसर कम गर्न सक्नेछ । त्यसपछि खरिद दबाब बढ्ने सम्भावना छ र लगानीकर्ताको क्रय शक्ति पनि बढ्ने देखिन्छ ।
ब्याजदर सस्तो र बैंकिङ प्रणालीमा अधिक तरलता रहेकोले, सेयर धितो कर्जा लिन इच्छुक व्यक्तिहरूको संख्या बढ्न सक्छ। यसले सेयर क्रयक्षमता बढाउने अनुमान गरिएको छ। अनुभवी लगानीकर्ताहरूले भने, भविष्यमा लाभांश दिने र वित्तीय सूचक बलियो भएका कम्पनीहरूमा लामो समय होल्ड गर्ने सुझाब दिएका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.१४ अकंले घटेर २६३५.०९ बिन्दुमा कायम भएको छ । आज३०८ कम्पनीको १ करोड ५७ लाख २३ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३० करोडको शेयर कारोबार भएको छ ।
यसदिन १२ उपसूचक राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूहको ०.९९ प्रतिशतले शेयर मूल्य बढेको छ । अन्य सबै सूचकमा गिरावट देखिएको हो ।
आज ५५ कम्पनीको शेयर मूल्य बढ्दा १८० कम्पनीको घटेको छ ।