पुस मसान्तभित्र कर बुझाउन विभागको ताकेता
काठमाडौँ । आन्तरिक राजस्व विभागले पुस मसान्तभित्र करको विवरण र कर बुझाउन ताकेता गरेको छ। आर्थिक वर्ष २०८१।८२ को कारोबारको अनुमानित करको विवरण र प्रथम किस्ता बापतको कर दाखिला गर्न विभागले करदाताहरूलाई अनुरोध गरेको हो।
आयकर ऐन, २०५८ (संशोधनसहित) को दफा ९४ को उपदफा ९१० बमोजिम, आव २०८१।८२ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले, दफा ९५ बमोजिम, आव २०८१।८२ को कारोबारको अनुमानित करको विवरण र सो विवरण अनुसारको तिर्नुपर्ने आयकरको पहिलो किस्ताबापतको ४० प्रतिशत रकम २०८१ पुस मसान्तभित्रै तिर्नु पर्ने व्यवस्था रहेको विभागले उल्लेख गरेको छ।
विभागले जारी गरेको सूचना अनुसार, ठूला करदाता कार्यालय, मध्यम स्तरीय करदाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा सम्बन्धित करदाता सेवा कार्यालयमा कर विवरण बुझाउन अनुरोध गरिएको छ।