नारायणी डेभलपमेन्टको खराब कर्जा आकाशियो: राष्ट्र बैंकको छुट्टै तयारी, जानकी र नेपाल फाइनान्समा पनि निगरानी

२५ पुष २०८१, बिहीबार १२:५४

काठमाडौँ । खराब कर्जा चुलिँदै गएका कम्पनी थप दर्दनाक अवस्थामा पुग्न थालेपछि नेपाल राष्ट्र बैंक आक्रामक देखिएको छ । खराब कर्जा र वित्तीय सूचक संकटमा रहेका क्षेत्रियस्तरका विकास बैंक र केहि फाइनान्सको अवस्था सुधारतिर जानुभन्दा थप ओरालो लाग्न थालेपछि केन्द्रिय बैंकले छलफल तिब्र बनाएको हो ।

२०७० चैत २७ गते राष्ट्र बैंकले समस्याग्रस्त संस्था घोषणा भएको नारायणी डेभलपमेन्ट बैंक पुन सोहि लाइनमा आइपुगेको छ । पछिल्लो समय नारायणीको वित्तीय अवस्था थप बिग्रिएपछि दोस्रो चरणको शीघ्र सुधारात्मक कारबाही गर्ने वा समस्याग्रस्त घोषणा गर्ने भन्नेबारे राष्ट्र बैंकका अधिकारीहरूले छलफल गरिरहेका छन् ।

कम्पनी संकटमा परेपछि संस्थापक शेयरधनीहरु धमाधम बाहिरिनका लागि बैंकमा आवेदन दिइरहेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासम्ममा कम्पनीको खराब कर्जा ३५ प्रतिशत पुगेको थियो । १ करोड २१ लाख रुपैयाँ घाटा रहेको बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५३ पैसा नोक्सानीमा छ । यो सूचक सुधार तिर जानुभन्दा थप दर्दनाक तिर जान थालेपछि राष्ट्र बैंक सक्रिय भएको हो ।

बैंकका चिफ रिक्स अफिसर सज्जाद हुसेन अन्सारीले भने बैंकका खराब कर्जा कम हुँदै आइरहेको बताए । उनले भने, ‘पछिल्लो समय हाम्रो पुरै टिम खराब कर्जा उठाउन तिर लागि परेको छ । बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म हामी खराब कर्जा संकलनमा जुटेका छौं । आश छ पहिलो त्रैमासभन्दा धेरै सुधार भएर आउने छ ।’

अन्सारीका अनुसार क्षेत्रिय स्तरमा ऋण उठाउन निकै सकस रहेको छ । ‘खराब कर्जा संकलनमा कठिनाईहरु धेरै आइरहेका छन् । स्थानिय सरकारदेखि विभिन्न निकायहरु समन्वय गर्ने नमान्दा खराब कर्जा उठ्न बाधा उत्पन्न भइरहेको छ’ उनले भने ।

समस्याग्रस्त घोषणा भएको कर्णाली र नारायणीको सूचक अवस्था

योसँगै तीन क्षेत्रियस्तरका विकास बैंकमा समेत राष्ट्र बैंकले निगरानी सुरु गरेको छ । पछिल्लो त्रैमाससम्ममा सप्तकोशी डेभलपमेन्ट बैंकको १४.७७ प्रतिशत, सिन्धु विकास बैंकको ११.२९ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकको ११.७३ प्रतिशत रहेको छ । खराब कर्जा आफ्नो निरन्तरमा आउनुभन्दा थप बाहिर जान थालेपछि केन्द्रिय बैंक छलफल तथा बैंकहरुमा निर्देशन तिर लागेको छ ।

यता, नेपाल फाइनान्स र जानकी फाइनान्समाथि समेत राष्ट्र बैंकको डन्डा चल्ने देखिएको छ । कम्पनीको अवस्था थप संकटमा पर्ने देखिएसँगै जानकी र नेपाल फाइनान्सलाई के गर्ने भन्ने विषयमा राष्ट्र बैंकका अधिकारीहरु छलफलमा जुटेका छन् । पहिलो त्रैमाससम्ममा जानकी फाइनान्सको खराब कर्जा अनुपात ३४.६४ प्रतिशत र नेपाल फाइनान्सको १०.३६ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा यो खराब कर्जा थप वृद्धि हुँदै गएपछि राष्ट्र बैंक एक्सनमा जाने देखिएको हो ।

समृद्धि फाइनान्सको २३.४७ प्रतिशत, गुहेश्वरी फाइनान्सको १३.५६ प्रतिशत, सेन्ट्रल फाइनान्सको ८.७१ प्रतिशत, रिलायन्स फाइनान्सको ८.५८ प्रतिशत र प्रोगेसिभ फाइनान्सको ७.४७ प्रतिशत पुगेको छ । यी फाइनान्स कम्पनीहरूको नाजुक अवस्थाले पनि वित्तीय प्रणालीलाई थप दबाबमा राखेको छ । दोस्रो त्रैमाससम्ममा यी कम्पनीहरु पनि थप संकटमा पर्ने देखिएको हो । खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा बढी देखिएमा राष्ट्र बैंकले कारबाहीस्वरूप निक्षेप तथा कर्जा प्रवाहमा न्यूनतम सीमा तोकिदिने, शाखा खोल्न, कर्मचारीहरूको पारिश्रमिक बढाउन, लाभांश वितरण गर्न रोक लगाउने व्यवस्था छ । तथापि, राष्ट्र बैंक आफ्नै व्यवस्थाको धज्जी उड्दा समेत मौन भएर बसेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा केहि कम्पनीहरुको खराब कर्जा लगायत वित्तीय सूचक थप डरलाग्दो अवस्थामा पुग्ने देखिएपछि के गर्ने भन्ने विषयमा छलफल चलि रहेको राष्ट्र बैंक स्रोतले बताएको छ । ‘सर्वसाधारण त्रसित नहुन भनेर खराब कर्जा वित्तीय विवरणमा कम देखाउनु राष्ट्र बैंकले भन्दै आएको थियो र सुधारका लागि निर्देशन समेत गरि रहेको थियो । तर, कम्पनीहरुको अवस्था सुधार तिर जानुभन्दा थप डरलाग्दो अवस्था जान थालेपछि केहि हामी छलफलमा लागेका छौं’ स्रोतले भन्यो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*