वित्तीय रुपमा टाट उल्टिन लागेको एनसेल २२ अर्ब ऋण लिँदै, नेपाली बैंक डुबाउने दाऊ
काठमाडौं । अर्बौ रुपैयाँ कर छली र सन् २०२९ पछि लाइसेन्सकै म्याद सकिन लागेको एनसेलले २२ अर्ब रुपैयाँ ऋण लिन क्रेडिट रेटिङ गराएको छ । इक्रा नेपालमा गराइएको क्रेडिट रेटिङलाई आश्चर्यजनक रुपमा ए एक रेटिङ दिइएको छ ।
एनसेलको वित्तीय अवस्था अत्यन्तै दयनीय अवस्थामा पुगिसकेको छ । व्यापारमा आएको गिरावट र घुस सेटिङमा ठूलो रकम खर्च भएकोले एनसेल वित्तीय रुपमा टाट उल्टिने अवस्थामा पुगिसकेको छ । आव २०७८।७९ सम्म आउँदा नै एनसेलको कूल दायित्व र कूल सम्पत्ति बराबरी अवस्थामा पुगिसकेको थियो । नेपालका स्थानीय भेण्डरलाई तिर्नुपर्ने रकम नै करिब ३० अर्ब बक्यौता रहेको छ भने विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट २७ अर्ब २२ करोड ५० लाख रुपैयाँ ऋण लिइसकेको छ ।
एनसेलले नेपालका बैंक तथा वित्तीय संस्थाबाट बिना धितो १५ अर्ब २२ करोड रुपैयाँ दीर्घकालिन ऋण र १२ अर्ब रुपैयाँ अल्पकालिन ऋण लिइसकेको छ । एनसेलले उक्त ऋण तीन बर्ष अघि नै लिएको थियो । उक्त ऋणको सावाँ नतिरी ब्याज मात्रै तिरेर एभरग्रिन बनेर बसेको वित्तीय विवरणमा देखिएको छ ।
पछिल्लो समय लाइसेन्स नविकरण गर्ने रोयल्टी बुझाउन एक अर्ब खोज्न विभिन्न बैंकहरु धाउँदा समेत असफल भएको एनसेल अहिले पुनः २२ अर्ब ६० करोड रुपैयाँ ऋण लिन क्रेडिट रेटिङ गराएको छ । इक्रामा गराइएको क्रेडिट रेटिङ कुन तथ्य र विश्लेषणको आधारमा गरियो प्रश्न उठेको छ ।
इक्राले आफ्नो रेटिङमा पछिल्लो तीन वर्षमा कम्पनीको आम्दानी उच्च दरमा घटिरहेको देखाएको छ । सन् २०२२ मा ३९ अर्ब आम्दानी गरेकोमा स्न २०२३ मा ३७ अर्ब र सन् २०२४ मा ३४ अर्ब (अन अडिटेड) आम्दानी गरेको देखाइएको छ । त्यस्तै, इक्राले कम्पनीको जोखिम नघटेको स्वीकार समेत गरेकोले एनसेललाई थप २२ अर्ब ऋण दिनु घातक हुने देखिएको छ ।
वित्तीय रुपमा अप्ठेरोमा अवस्थामा पुगेको एनसेललाई नेपाल इन्भेष्टमेन्ट बैंक वा नबिल बैंकबाट ऋण लिने तयारी गरेको बुझिएको छ । यसअघि स्मार्ट टेलिकमले नेपाल इन्भमेन्ट बैंक सहितका बैंकहरुबाट अर्बौ रुपैयाँ ऋण डुबाएर भागिसकेका छन् । यसरी बैंक डुबाएर भाग्ने स्मार्ट टेलिकमका व्यक्ति सशितलाल आचार्यकै टिम हो । अहिले एनसेलमा आचार्यले नै उक्त ऋण लिन लागेका छन् । राजनीतिक पहुँचका आधारमा माफियाहरुले नेपालका बैंक डुबाएर भाग्ने यो खेलमा नेपालका कुन कुन बैंक डुब्ने हुन् चासोको बिषय बनेको छ ।
एनसेलको आर्थिक अवस्था गम्भिर अवस्थामा, लेखापरिक्षणमा देखियो २६ अर्ब भुक्तानी बक्यौता र २० अर्ब ऋण