प्रतिकित्ता १५९ रुपैयाँमै सूर्यज्योति लाइफको शेयर बिक्रीमा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ लाख ९३ हजार ८२५ कित्ता शेयर बिक्रीमा राखिएको छ। एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको उक्त शेयर प्रतिकित्ता न्यूनतम १५९ रुपैयाँमै बिक्रीमा राखेको हो।
यो शेयर यसअघि नै संस्थापक शेयरधनीका लागि खरिद आह्वान गरिसकिएकाले अब योग्य जो कोही व्यक्ति तथा संगठित संघसंस्थाले खरिद गर्न सक्नेछन्। पछिल्लो समय सूर्यज्योति लाइफको संस्थापक शेयर बिक्री गर्ने क्रम बढ्दै गइरहेको छ।
यससँगै एनआईसी एशिया बैंकले सूर्याेदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता शेयर प्रतिकित्ता २५३ रुपैयाँ न्यूनतम मूल्यमा र सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी)को ५० हजार कित्ता शेयर प्रतिकित्ता न्यूनतम ७०३ रुपैयाँमा बिक्रीमा राखेको छ।
सूर्याेदय वोमी लघुवित्तको शेयर जो कोहीले खरिद गर्न पाउनेछन् भने सीआईटीको शेयर बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले मात्रै खरिद गर्न पाउनेछन्। उक्त शेयरहरू खरिद गर्न योग्य र इच्छुकले आज पुस २५ गतेदखि माघ ४ गते कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।
बोलपत्र फाराम शेयर रजिष्ट्रार एनआईशी एशिया क्यापिटल लिमिटेड, थापाथली, काठमाडौं वा एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालयका साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा पाइनेछ। बोलपत्र फाराम पनि सोही स्थानमा बुझाउन सकिनेछ।