लुम्बिनी विकास बैंकका अध्यक्षको बैठक भत्ता ३६% ले बढ्यो, वर्षदिनमा सीइओले बुझे १ करोड २४ लाख तलब भत्ता
काठमाडौँ । लुम्बिनी विकास बैंकका अध्यक्ष चिन्तामणि भट्टराईको बैठक भत्ता ३६ प्रतिशतले बढाइएको छ। अब उनले सञ्चालक समितिको प्रत्येक बैठकमा उपस्थिति जनाएबापत १५ हजार रुपैयाँ भत्ता पाउनेछन्। यसअघि उनले प्रति बैठक ११ हजार रुपैयाँ प्राप्त गर्दै आएका थिए।
बैंकका अन्य सञ्चालकहरुको बैठक भत्ता पनि ४४ प्रतिशतले वृद्धि गरिएको छ। अब प्रत्येक सञ्चालकले प्रति बैठक १३ हजार रुपैयाँ भत्ता पाउने भएका छन्। यसअघि उनीहरुले प्रति बैठक ९ हजार रुपैयाँ लिंदै आएका थिए। भत्ता वृद्धि पछि यो सुविधा प्राप्त गर्ने सञ्चालकहरुमा प्रविन श्रेष्ठ, रामचन्द्र सिग्देल, गणेश रेग्मी, अर्जुन थापा, केशब खतिवडा र जयदेव श्रेष्ठ रहेका छन्।
सञ्चालकहरुलाई टेलिफोन र पत्रपत्रिका सुविधाका लागि मासिक ३ हजार ५०० रुपैयाँ दिँदै आएको रकम पनि बढाएर ६ हजार रुपैयाँ पुर्याइएको छ।
यता, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेश सिंह बोहराले आर्थिक वर्षभरि तलब भत्ता बापत १ करोड २४ लाख ९० हजार रुपैयाँ प्राप्त गरेका छन्। उनले ८४ लाख रुपैयाँ पारिश्रमिक, २२ लाख ९० हजार रुपैयाँ बोनस, ६ लाख रुपैयाँ सञ्चयकोष, ७ लाख रुपैयाँ दशैं भत्ता र अन्य शीर्षकमा ५ लाख रुपैयाँ प्राप्त गरेका हुन्।