बजारमा अन्धाधुन्ध लगानीः रातारात धनी बन्ने सोचले संकटग्रस्त कम्पनी रोजाइ, कर्णालीबाट सिकिएन पाठ
काठमाडौँ । भन्छन्, ‘पैसाका अघि महादेवका पनि तीन नेत्र’। यो प्रवृत्ति नेपालको पुँजी बजारमा केही लगानीकर्तामा देखिएको छ । पैसा कमाउने नाममा अन्धाधुन्ध शेयर खरिद गर्ने चलन मौलाउँदै गएको छ । रातारात धनी बन्ने सोच राखेर लगानीकर्ताहरू आँखा चिम्म गरेर जोखिमयुक्त कम्पनीमा लगानी गरिरहेका छन् ।
वित्तीय रूपमा टाट पल्टिन लागेका कम्पनीमा लहलहैमा लगानी गर्नेहरूको संख्या बढ्दो छ । कहिल्यै लाभांश दिन नसक्ने, ऋणात्मक प्रतिशेयर आम्दानी भएका र खराब कर्जा निरन्तर बढिरहेका कम्पनीहरूमा लगानी गर्नु आफैँमा ठूलो जोखिम हो । यस्ता कम्पनीहरूमा माफियाहरूले अफवाह र हल्ला फैलाएर सामान्य लगानीकर्तालाई भ्रमित पार्ने गर्छन् । नेपालको शेयर बजारमा यस्तै स्थिति देखिएको छ । अफवाहको पछि लागेर लगानी गर्नेहरूले बलुवामा पानी हाल्ने जस्तै नतिजा भोगिरहेका छन् ।
राष्ट्र बैंकले कारबाही तयारी गरि रहेका केहि क्षेत्रियस्तरका विकास बैंक र फाइनान्स कम्पनीको शेयर मूल्य निरन्तर उचालि रहेको छ । वित्तीय अवस्था बिग्रिएका नारायणी डेभलपमेन्ट बैंक र पोखरा फाइनान्सलाई कारबाही गर्ने तयारीमा राष्ट्र बैंक गरेको छ । नारायणी डेभलपमेन्ट बैंकमाथि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गर्नेे छलफल गरिरहेको हो । नारायणीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खराब कर्जा करिब ३५ प्रतिशत पुगेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको १४.७७ प्रतिशत, सिन्धु विकास बैंकको ११.२९ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकको ११.७३ प्रतिशत पुगेको छ । यी चार बैंकको वित्तीय सूचक तनावग्रस्त अवस्थामा पुगेको हो।
यता, पोखरा फाइनान्समाथि पनि राष्ट्र बैंक निर्मम बन्ने सम्भावना देखिएको छ । पोखरा फाइनान्सको खराब कर्जा बढ्दै गएको र निक्षेपकर्ताको रकम जोखिममा पर्ने सम्भावना बढेकाले कारबाही गर्ने विषयमा राष्ट्र बैंकमा छलफल चलिरहेको जनाइएको छ । जानकी फाइनान्सको खराब कर्जा अनुपात ३४.६४ प्रतिशत, समृद्धि फाइनान्सको २३.४७ प्रतिशत, गुहेश्वरी फाइनान्सको १३.५६ प्रतिशत, सेन्ट्रल फाइनान्सको ८.७१ प्रतिशत, रिलायन्स फाइनान्सको ८.५८ प्रतिशत र प्रोगेसिभ फाइनान्सको ७.४७ प्रतिशत पुगेको छ । यी फाइनान्स कम्पनीहरूको नाजुक अवस्थाले पनि वित्तीय प्रणालीलाई थप दबाबमा राखेको छ । यी कम्पनीहरु पनि संकटग्रस्त छन् ।
यी कम्पनी माथि राष्ट्र बैंकले जुनसुकै बेला समेत डन्डा चलाउन सक्ने देखिएको छ । तर, दर्दनाक अवस्थामा रहेका यीनै कम्पनीका शेयर बजारमा नौटङ्की नाच देखि रहेको छ । वित्तीय अवस्था नै नाजुक रहेका यी कम्पनीहरुमा लगानीकर्ताहरुले धमाधम लगानी गर्र्दै आइरहेका छन् । यी कम्पनीहरुमा माफिया खेल्दा स–साना लगानीकर्ताको लगानी जोखिममा परेको छ ।
टाट पल्टिन लागेको कम्पनीको शेयर मूल्य आकाशिदा नियामक निकाय भने मुखदर्शक बनि रहेको छ । माफियाहरुको रजगज रहेको कम्पनीको शेयर मूल्यमा निरन्तर आइरहेको उछालका विषयमा नियामकको अभिभावकिय भुमिका देखिएको छैन ।
कर्णालीले सिकाएन पाठ
कर्णाली डेभलपमेन्ट बैंकको घटनाले पुँजी बजारमा लगानीका जोखिमबारे महत्त्वपूर्ण पाठ दिएको थियो । नेपाल राष्ट्र बैंकले यसलाई समस्याग्रस्त घोषणा गरेपछि शेयर कारोबार रोकियो । यस घटनाले लगानीकर्ताहरूको विश्वासमा ठुलो धक्का पु¥यायो । कमजोर वित्तीय सूचक भएका कम्पनीमा लगानी गर्नाले कति ठूलो जोखिम लिनुपर्छ भन्ने कुरा यस घटनाले प्रस्ट ग¥यो । ४० प्रतिशत खराब कर्जा पुगेपछि कारबाहीमा परेको कर्णालीबाट लगानीकर्ताले पाठ सिक्न सकेनन् ।
शेयर बजारमा लगानी गर्दा प्रमुख वित्तीय सूचकहरूको अध्ययन अनिवार्य छ । प्रतिशेयर आम्दानी, मूल्य–आम्दानी अनुपात, बजार मूल्य र किताबी मूल्य अनुपातजस्ता सूचकहरूमा ध्यान नदिँदा लगानीकर्ताले ठूलो जोखिम मोल्छन् । कर्णाली विकास बैंकसहितका धेरै कम्पनीहरूको शेयर मूल्य उतारचढाव यसको ज्वलन्त उदाहरण हो।
पुँजी बजारमा अफवाहभन्दा सही जानकारीका आधारमा लगानी निर्णय गर्नुपर्छ । आफ्नो पुँजी र लगानी लक्ष्यअनुसार योजना बनाएर मात्र लगानी गर्नु बुद्धिमानी हुन्छ । यसरी, शेयर बजारमा लगानी गर्दा आवेगलाई नियन्त्रण गरेर र वित्तीय सूचकहरूको अध्ययन गरेर मात्र निर्णय लिनुपर्ने आवश्यकता रहेको छ । जोखिमलाई न्यून गर्न दीर्घकालीन रणनीति नै सबैभन्दा उचित हो ।
यो पनि पढ्नुहोस्
कर्णालीकै लाइनमा नारायणी डेभलपमेन्टः खराब कर्जा थप चुलिँदै, के ‘टेकओभर’ कै अवस्थामा छन् सूचक ?
नारायणी डेभलपमेन्ट बैंकको भविष्य संकटमा, कानुनको धज्जी उड्दा समेत मुकदर्शक राष्ट्र बैंक
चार वटा बैंकहरुको अवस्था संकटग्रस्त, राष्ट्र बैंकद्वारा टेकओभरमा ढिलाई
कर्णालीमा चलेको डन्डाले टाट पल्टिन लागेका विकास बैंक र फाइनान्स त्रसित, ११ कम्पनी संकटको बाटोमा