राष्ट्रिय बीमा कम्पनीको वार्षिक सभामा उठ्यो अप्पर तामाकोशीको पुनर्बीमाको विषय

२४ पुष २०८१, बुधबार १५:४८

काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको दोस्रो वार्षिक साधारणसभामा अप्पर तामाकोशीको पुनर्बीमा नगरेको भन्दै शेयरधनीहरुले आवाज उठाएका छन् ।

शेयरधनीहरुले अप्पर तामाकोशी जलविद्युत आयोजनाले आफ्नो करोडौं रुपैयाँको बीमा, राष्ट्रिय बीमा कम्पनीमा गरेको र कर्मचारीहरुले किन पुनर्बीमा नगरेको भन्दै आवाज उठाएका हुन् । कम्पनीका केही कर्मचारीहरुले लापरबाही गर्दै उक्त बीमाको पुनर्बीमा नगर्दा गत असोजको बाढी पहिरोले अप्पर तामाकोशीमा भएको क्षतिले राष्ट्रिय बीमा कम्पनीमा अर्बौ रुपैयाँको दावी पर्ने भएको छ ।

२६ करोड रुपैयाँ चुक्ता पूँजी भएको यस कम्पनीमा अर्वौ रुपैयाँको भार पर्ने देखिएकाले दोस्रो बजारमा कम्पनीको शेयरमूल्यमा पनि भारी गिरावट आएको शेयरधनीहरुले गुनासो गरेका छन् ।

साथै, अप्पर तामाकोशीको पुनर्बीमा नगर्ने र लापरबाही गर्ने कर्मचारीहरुलाई कारबाही गर्नुपर्ने समेत शेयरधनीहरुले आवाज उठाएका छन् । सञ्चालक भत्ता बढाउने सन्दर्भमा समेत अधिकांश शेयरधनीहरुले असन्तुष्ट जनाएका छन् । कतिपयले त राष्ट्रिय बीमा कम्पनीले लाभांश दिन्छ भन्ने आश गर्नु भनेको ‘आकाशको फल आँखा तरी मर’ भने जस्तै भएको समेत टिप्पणी गरेका छन् ।

अप्पर तामाकोशीको पुनर्बीमाको सन्दर्भमा कर्मचारीहरुबाट गल्ति भएको राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष दिनेश उपाध्यायले स्वीकार गरेका छन् । उनले आउँदो वार्षिक साधारणसभा यसबारे सम्पूर्ण जानकारी दिने भन्दै शेयरधनीहरुलाई सान्त्वना दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*