क्रिप्टो र बिट क्वाइनमा सम्पत्ति शुद्धिकरणको मुद्धा, राजपत्रमा प्रकाशित
काठमाडौँ । सरकारले आधारदर्जन कसूरलाई सम्पत्ति शुद्धीकरणसम्बद्ध कसुर तोक्दै तीन निकायलाई नियमनकारी तोकेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम ६ कसुर र तीन नियामक तोकेको हो ।
मौजुदा ऐनको दफा ७न. को उपदफा (२)ले दिएको अधिकार प्रयोग गरी समन्वय समितिको सिफारिसमा विभिन्न वित्तीय संस्था तथा गैरवित्तीय पेशाकर्मी वा व्यवसायीसँग सम्बन्धित निकायलाई सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोक्ने निर्णय भएको राजपत्रमा प्रकाशित सूचना उल्लेख छ ।
ऐनको अनुसूचीको क्रमसङ्ख्या ३ ले सरकारलाई राजपत्रमा सूचना प्रकाशन गरी सम्पत्ति शुद्धीकरणमा कसूर तोक्ने अधिकार दिएको छ । सोही अधिकार प्रयोग गर्दै सरकारले विभिन्न ६ कसुरलाई सम्पत्ति शुद्धीकरण कसुर तोकेको हो ।
प्रकाशित सूचनाअनुसार; मानव तस्करी, हुन्डी, अभौतिक (भर्चुअल) मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमतिपत्र नलिई क्यासिनो चलाएको खण्डमा सम्पत्ति शुद्धीकरण मुद्दा लाग्नेछ ।