सुपर लघुवित्तमा ३२ करोड अपचलन, सञ्चालक ज्योति चौधरी पुर्पक्षका लागि थुनामा
काठमाडौँ । दाङको सुपर लघुवित्त वित्तीय संस्थाका सञ्चालक ज्योति चौधरीलाई साढे ३२ करोड रुपैयाँभन्दा बढी रकम अपचलनको अभियोगमा पक्राउ गरिएको छ। चौधरीलाई २०८१ बैशाख ४ गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका थिए, तर उनले आइतबार उच्च अदालत तुलसीपुरमा आत्मसमर्पण गरेका थिए।
न्यायाधीश अर्जुनप्रसाद कोइराला र नरबहादुर खड्काको संयुक्त इजलासले सोमबार चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। उनलाई अहिले तुलसीपुर कारागारमा राखिएको छ।
ज्योति चौधरीसँगै उनका परिवारका अन्य सदस्यहरू – छोरा किरण चौधरी, भाइहरू रामबहादुर चौधरी, बुद्धि चौधरी, र भाइकी छोरी तारा चौधरीले पनि सुपर लघुवित्तमा भएको ३२ करोड ५७ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा कारबाही भैरहेको छ।
प्रहरीका अनुसार उनीहरूले नक्कली ऋणी खडा गरेर २५ करोड २६ लाख रुपैयाँ हिनामिना गरेका छन्। साथै, साढे ६ करोड रुपैयाँभन्दा बढी रकम सर्वसाधारणले लघुवित्तमा जम्मा गरेका थिए, जुन अपचलन गरिएको प्रहरीद्वारा पुष्टि गरिएको छ।