काठमाडौँ उपत्यकामा विषादीयुक्त रायोको साग, स्वास्थ्यका लागि खतरा

२४ पुष २०८१, बुधबार १३:०३

काठमाडौँ। काठमाडौँ र भक्तपुरमा उत्पादित रायोको सागमा अत्यधिक विषादीको मात्रा फेला परेको छ। कालीमाटी तरकारी बजार विकास समितिले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार, काठमाडौँ उपत्यकाका विभिन्न पसलहरूमा विषादीयुक्त साग बिक्री भइरहेको पाइएको हो ।

मंगलबार भक्तपुरमा उत्पादन गरिएको रायोको सागमा ५५.६१९६ प्रतिशत कार्वामेट र ७५.५५१ प्रतिशत अर्गानोफस्फेट विषादीको मात्रा भेटिएको थियो। उक्त साग कृष्णमाया तामाङको ६२४ नम्बरको पसलमा बिक्रीका लागि राखिएको थियो।

त्यस्तै, कालीमाटीकै ६५३ नम्बरको पसलमा श्रीराम आचार्यले बिक्रीका लागि राखेको रायोको सागमा ९२.२४५ प्रतिशत अर्गानोफस्फेट विषादीको मात्रा पाइयो। यसअघि सोमबार पनि भक्तपुरबाट ल्याइएका सागमा ९९.३८०९ प्रतिशत अर्गानोफस्फेट विषादीको मात्रा पाइएको थियो।

विषादी परीक्षणका क्रममा कार्वामेट र अर्गानोफस्फेट नामक कीटनाशक विषादीका मात्राहरू अत्यधिक भेटिएका छन्। यस्ता विषादीहरू ३५ प्रतिशतभन्दा बढी खपत गर्न अयोग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्मको विषादी भएका सागहरूलाई केही दिन राखेर खान मिल्ने भए तापनि ४५ प्रतिशतभन्दा बढी विषादीको मात्रा भएको साग स्वास्थ्यका लागि अति हानिकारक मानिन्छ।

काठमाडौँका बासिन्दाहरूको स्वास्थ्यमा खतरा उत्पन्न गर्न सक्ने यस्तो विषादीयुक्त सागको बिक्रीमा बढोत्तरी देखिएको छ। यसबारे बजार विकास समितिले सम्बद्ध निकायलाई सचेत गराउँदै उचित कारवाही गर्न आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*