लगानीकर्ता ठग्न अम्बे स्टीलको प्रिमियम आईपीओ, टाट पल्टिन लागेको कम्पनीलाई अनुमतिको चुनौती
काठमाडौँ । पछिल्लो समय वित्तीय सूचकमा दर्दनाक अवस्थामा रहेका कम्पनीहरू पनि आईपीओ जारी गर्ने प्रक्रियामा अघि बढेका छन् । बजारमा आईपीओ जारी गरेर सर्वसाधारण लगानीकर्ताबाट सहजै रकम उठाउन सकिने देखिएसँगै अहिले घाटामा रहेर बन्द हुन लागेका कम्पनीहरूमा आईपीओ ल्याउने होड नै चलिरहेको छ। शेयर बजारबाट पैसा उठाउने र आफ्ना कर्जा भुक्तानी गर्नका लागि कम्पनीहरूले लगानीकर्तालाई गुमराहमा राखेर प्रिमियममा आईपीओ जारी गर्न थालेका हुन् । सोहीमध्यको एक कम्पनी हो अम्बे स्टील ।
वित्तीय रूपमा टाट पल्टिन लागेको अम्बे स्टील आईपीओबाट रकम उठाएर आफ्नो अस्तित्व जोगाउने प्रयास गरिरहेको छ । अम्बे स्टील्सले विगतका वर्षहरूमा आफ्नो वित्तीय सूचकांकहरूमा तीव्र उतारचढाव भोगेको छ । कम्पनीको कुल सञ्चालन आय आर्थिक वर्ष २०७७/७८ मा ९ अर्ब २५ करोड ३० लाख रुपैयाँ बाट आर्थिक वर्ष २०७९/८० मा ८ अर्ब ३४ करोड ८० लाखमा घटेको देखिन्छ । गत आर्थिक वर्षको ९ महिनासम्म पनि कम्पनीको कुल सञ्चालन आय ५ अर्ब ३ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ । कोभिड १९ र आर्थिक मन्दिमा समेत सन्तोषजनक व्यापार गरेको कम्पनीको आम्दानी पछिल्लो समय निरन्तर खस्किँदै गइरहेको देखिन्छ।
ब्याज, कर, मूल्यह्रास र समाप्तीपूर्वको आम्दानी मार्जिन आव २०७७/७८ मा ७.२० प्रतिशत, आव २०७८।०७९ मा १.२७ प्रतिशत र आव २०७९/८० मा ६.४३ प्रतिशतमा रहेको छ । यता गत आर्थिक वर्ष २०८०।०८१ को ९ महिनामा सुधार हुँदै ७.५९ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको ब्याज आवरण अनुपात २०७९/८० मा १.२१ गुणामा झरेको थियो भने गत आर्थिक वर्षको ९ महिनामा यो १.१४ गुणा पुगेको छ ।
कुल ऋण–इबिट्डा अनुपात २०७७/७८ मा ५.९८ गुणा रहेकोमा यो २०७९/८० मा ७.२९ गुणा र गत आर्थिक वर्षको ९ महिनामा ९.१६ गुणा पुगेको छ, जसले कम्पनीमा ऋणको दबाब बढिरहेको संकेत गरेको छ । तर चालु अनुपात भने स्थिर रहँदै आव २०७७/७८ मा १.०१ गुणाबाट २०७९/८० मा १.१२ गुणा र गत आर्थिक वर्षको ९ महिनामा १.२६ गुणा पुगेको छ ।
वित्तीय सूचक हेर्दा कम्पनीको समग्र वित्तीय स्थायित्वलाई प्रभावित गरिरहेको छ । इन्फोमेटिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई मध्यम स्तरको क्रेडिट जोखिमका रूपमा वर्गीकृत गरेको छ । कम्पनीको पूँजी संरचना मध्यम रूपमा ऋणभारयुक्त रहेको देखिन्छ । २०७९ साउनमा कम्पनीको कुल गियरिङ अनुपात २.३६ थियो, जुन २०७८ साउनमा २.८६ थियो । यद्यपि नयाँ १५ टन क्षमताको भट्टी स्थापनाका लागि भएको पूँजीगत खर्चले ९ महिनामा ऋण वृद्धि गराउँदा २०७९ चैतमा गियरिङ अनुपात २.८० पुगेको छ । यसले कम्पनीको वित्तीय जोखिम बढाएको छ । थप रूपमा २०७९ मा ब्याज कभरेज अनुपात १.२१x मा झरेको छ, जुन २०७८ मा १.२७x थियो ।
यस कम्पनीले मुख्य रूपमा भारतबाट पिग आइरन र स्पन्ज आइरन आयात गर्दछ, जसको मूल्य बजारमा निर्भर हुन्छ । यी कच्चा पदार्थको मूल्यमा आएको अस्थिरताले कम्पनीको नाफामाथि प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । कम्पनीले आयातका लागि अमेरिकी डलरमा कारोबार गरे पनि बिक्री भने नेपाली रुपैयाँमा हुने हुँदा विदेशी मुद्रा विनिमय जोखिमको सामना गरिरहेको छ । कम्पनीसँग विदेशी मुद्रा घाटा न्यूनीकरण गर्नका लागि हेजिङ अभ्यासको कुनै व्यवस्था छैन ।
नेपाल र भारत दुबैको सरकारी नीतिहरूले कम्पनीलाई नकारात्मक प्रभाव पारिरहेको छ । फलाम र स्टिल उद्योगमा प्रवेश सहज भएकोले प्रतिस्पर्धा तीव्र छ । नयाँ खेलाडीको प्रवेश र पुराना कम्पनीहरूको क्षमता विस्तारले स्टिलको बजार मूल्यमा गिरावट ल्याएको छ, जसले कम्पनीको राजस्व र नाफालाई असर गरेको छ । कुल मिलाएर अम्बे स्टिल्स लिमिटेडले विभिन्न वित्तीय र सञ्चालन चुनौतीहरूको सामना गरिरहेको छ, जसले कम्पनीको दिगो वृद्धि र स्थायित्वमा थप दबाब सिर्जना गरेको छ।
सोहि कम्पनी लगानीकर्ताको आँखामा छारो हाल्दै प्रिमियममा आइपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डको दैलोमा पुगेको छ । अम्बे स्टील्सले १०० रुपैयाँ अंकित मूल्यमा २०३ रुपैयाँ थप गर्दै १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो । लगानीकर्ताबाट कम्पनी ३ अर्ब ३९ करोड १३ लाख ९६ हजार रुपैयाँ उठाउने दाउमा रहेको छ ।
निरन्तर वित्तीय सूचकमा नाजुक बनिरहेको अम्बे अंकित मूल्यमा आईपीओ निष्कासनका लागि सक्षम देखिएपनि प्रिमियममा आईपीओ निष्कासन ठगीधन्दा हुने देखिएको छ । वित्तीय सूचकको अवस्था हेर्दा कम्पनीले अंकित मूल्यमा आईपीओ जारी गर्ने हो भने सहजै अनुमति पाउने देखिन्छ । अम्बे स्टीलको वित्तीय अवस्था नाजुक रहेको हुँदा प्रिमियममा आईपीओ अनुमति पाउनु चुनौती रहेको धितोपत्र बोर्ड स्रोतले बताएको छ । स्रोतले भन्यो, ‘प्रिमियममा आईपीओ निष्कासन अनुमति विवादित हुने गरेको छ । अहिले अध्यक्षले पनि प्रिमियममा सकेसम्म शेयर निष्कासनको अनुमति नदिने बताएका छन् । दिनु नै परेको खण्डमा सबै अध्ययन गरेर मात्र दिने भनिएको छ । जहाँसम्म अम्बेको कुरा छ यो कम्पनीले केही प्रिमियम कम नै गर्नुपर्ने देखिन्छ ।’
अब यस्तो कम्पनीलाई प्रिमियममा आईपीओ अनुमति कसरी पाउँदा प्रश्न उठ्न थालेका छन् । पछिल्लो समय लगानीकर्ताहरुले पनि १०० रुपैयाँ पाउँदै आइरहेको शेयर प्रिमियममा अनुमति दिनु भनेको कम्पनी र नियामकको बदमासीका रुपमा आवाज उठाउँदै आइरहेका छन् ।
२००७ अगस्ट २६ मा अम्बे ग्रुपको हिस्सा रूपमा स्थापित भएको यो कम्पनी २०२३ अक्टोबर १९ मा अम्बे स्टिल्स लिमिटेडको रूपमा रूपान्तरण भएको हो । यसको उत्पादन प्लान्ट भैरहवा, गोनाहा गाउँपालिकाको वडा नं. ६ मा अवस्थित छ । यस कम्पनीले टीएमटी स्टिल बार्स (१,४४,००० मेट्रिक टन प्रतिवर्ष), बिलेट्स (१,२०,००० मेट्रिक टन प्रतिवर्ष), जीआई वायर (१४,४०० मेट्रिक टन प्रतिवर्ष), र ग्याबियन बक्स (३० लाख वर्ग मिटर) उत्पादन गर्दै आएको छ । कम्पनीको शेयर स्वामित्वमा २४ प्रतिशत हिस्सा शोभाकर न्यौपाने, १८ प्रतिशत हिस्सा शिवाज न्यौपाने, १२.५० प्रतिशत हिस्सा सज्जन अग्रवाल र ११ प्रतिशत हिस्सा शिवानी न्यौपानेको रहेको छ ।
अम्बे ग्रुप र शंकर ग्रुपको लगानी रहेको रिद्धिसिद्धि सिमेन्टले समेत प्रिमियममा आईपीओ जारी गर्ने तयारी गरेको । रिद्धिसिद्धि पनि वित्तीय रुपमा निकै नाजुक अवस्था रहेको कम्पनी हो ।
बजारलाई पारदर्शी र ब्यवस्थित बनाउने प्रतिबद्धता ब्यक्त गर्दै आइरहेका सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले संकटमा रहेको अम्बे र रिद्धिसिद्धिलाई आईपीओ निष्कासन अनुमतिका विषयमा के निर्णय लिन्छन् त्यो हेर्ने बाँकी छ ।
वित्तीय संकटमा रिद्धिसिद्धि सिमेन्ट, लगानीकर्तालाई गुमराह पार्न ल्याउँदै प्रिमियममा आइपीओ